काठमाडौं, २२ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी सावदले अर्थमन्त्री जनार्दन शर्मालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मात्र हटाउन मिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सावदले भने, “यो मिलिजुली सरकार हो । संयुक्त सरकारको संस्कृति के हो भने मन्त्रीको नियुक्ति र बर्खास्ती सम्बन्धित दलको सिफारिसमा मात्र हुन्छ । यसबारे सम्बन्धित दलहरुले नै निर्णय लिँदै आएका छन् । केही दलको मन्त्री फेरबदलको सिफारिस प्रधानमन्त्रीले स्वीकार गर्नुभएको पनि छ । अर्थमन्त्रीसँग सहकार्य नगरी सरकार चल्न सक्दैन । प्रधानमन्त्रीले अर्थमन्त्रीसँग असहज महसुस गर्नुभएको छैन । प्रधानमन्त्रीले उहाँलाई बर्खास्ती गर्न आरोप पुष्टि हुनुपर्छ । त्यसैले अर्थमन्त्री प्रचण्डको सिफारिसमा मात्र हट्न सक्नुहुन्छ ।”
गठबन्धन तोड्न मन्त्रीमाथि विभिन्न आरोप लगाइरहेको पनि कांग्रेस नेता सावदले बताए । उनले भने, “कुनै न कुनै शक्ति वर्तमान सरकारलाई अस्थिर गर्न लागिरहेका छन् । गठबन्धनमा विवाद बढाउन सके विभाजन गर्न सजिलो हुन्छ भनेर लागिरहेका छन् । मन्त्रीका केही कमीकमजोरी छन् भने नियामक संस्थाहरु छन् । सञ्चारमाध्यममा आरोप लागेका भरमा राख्ने वा हटाउने भन्ने कुरा हुन सक्दैन । त्यसमा छानबिन भएर अन्तिम टुंगो लाग्यो भने कसै न कसैले त्यसको जिम्मेवारी लिनुपर्छ । तर अप्रमाणित कुरामा हटाउने काम हुन सक्दैन ।”
उनले नैतिकता भनेको सम्बन्धित व्यक्तिकै जिम्मेवारी भएको पनि बताए । सावदले थपे, “बेलायतमा अर्थमन्त्रीले बजेट पढ्न जानुअघि एक सांसदलाई चुरोट चाँडै खानोस् है भनेर जिस्काए । एकछिनपछि चुरोटमा कर बढेपछि संसद्मा हंगामा भयो र अर्थमन्त्रीले राजीनामा दिए । नेपालमा त्यस्तो उच्च नैतिकता देखाउने कमै छन् । अहिले अर्थमन्त्रीले बिलकुल होइन भन्नुभएको छ । अब हामीले कसरी राजीनामा गर भन्ने ?”