Logo

अर्थतन्त्रको मर्म बुझेको व्यक्ति चयन भएमा मुलुकले त्राण पाउन सक्छः पूर्वगभर्नर



काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्री फेरिए बजेट कार्यान्वयनमा आशंका गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वगभर्नर क्षेत्रीले भने, “अबको बजेट ६ महिनामा स्वर्ग उल्ट्याउन सकिन्छ भन्ने होइन । तर बजेट के हुन्छ भन्ने कुरा शंकाको घेरामा छ । नेपालमा व्यक्ति फेरिनासाथ धेरै कुरा फेरिन्छ । नयाँ व्यक्ति आउँछ, पुरानो कुरा ओझेल पर्छ । संस्थागत सम्झना राख्ने चलन छैन । नीतिगत रुपमै फरक पर्दो रहेछ । जनार्दन शर्माको बहिर्गमनले चिन्ता बढाएको छ ।”
सीसीटीभी फुटेज लामो समय नरहनु स्वाभाविक भएको पनि उनले तर्क गरे । क्षेत्रीले भने, “सामाजिक सञ्जालमा दबाब र संसदीय छानिबन समिति बनेपछि पदमा बसिरहनु उपयुक्त हुँदैन भनेर उहाँले राजीनामा गर्नुभयो । वाइडबडी काण्डमा यसरी नै सामाजिक सञ्जालमा दबाब आएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व न्यायाधीशका अध्यक्षतामा छानबिन गर्ने भन्नुभएको थियो । पछि न्यायाधीशले नियुक्ति नै पाएको छैन भन्नुभयो । सीसीटीभी फुटेज प्राविधिक कुरा हो । १०-१५ दिनभन्दा बढी रहँदैन भन्छन् । सरकार इतर पक्ष अर्थमन्त्रीको एकपछि अर्को कन्टोभर्सियल कुरा उजागर गर्नसफल भएको छ ।”
अर्थतन्त्रको मर्म बुझेको व्यक्ति चयन भएमा मुलुकले त्राण पाउने पनि क्षेत्रीले औंल्याए । उनले भने, “अहिले असहज परिस्थिति छ । मौद्रिक नीतिमा उदार भएर साढे ४ खर्ब बाँड्दा अर्थमन्त्रीले वाहवाही पाएको पनि हो । तर उत्पादनवृद्धि, उद्योगधन्दा चलायमान गर्नेभन्दा बाहिरबाट आयात गरेर छिट्टै नाफा कमाउने कुरा भयो । नीति निर्माण तहकाले त्यसको समाधान गरिदिए श्रीलंका वा पाकिस्तानको बाटोमा जानु पर्दैन । अहिले प्रधानमन्त्रीले नै अर्थमन्त्रालय सम्हाल्नुभएको छ । उहाँसँग मुलुकको क्षमता बुझ्ने सामथ्र्य कति छ ? अर्थतन्त्रको मर्म बुझेको व्यक्ति चयन भएमा मुलुकले त्राण पाउन सक्थ्यो कि ? जनताका आकांक्षा आंशिक रुपमा पूरा गर्न सक्ने सम्भावना हुन्थ्यो कि ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot