Logo

नेपालमा लागूऔषध कारोबारमा विदेशी नागरिकको संलग्नता : कहाँ छ कमजोरी ?



असार २३, काठमाण्डौ । असार २ गते नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरेर एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात जना महिलालाई पक्राउ गरेको जानकारी दियो । जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको थियो । केही दिनअघि मात्रै एक जना तान्जानियाका नागरिक, दुई जना भारतका र एक जना नेपालीसहित करिब ५ किलो हिरोइन काठमाण्डौको बौद्धबाट बरामद भयो । यि घटना त पछिल्लो उदाहरण मात्रै हुन् ।

नेपालमा लागू औषध सेवन र कारोबार डरलाग्दो गरी बढिरहेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५ हजार १ सय ६७ जना अभियुक्त पक्राउ परेका छन् । तिमध्ये ४ हजार ७ सय ५४ जना पुरुष र २२१ जना महिला र २२१ जना महिला पक्राउ परेका छन् । त्यसैगरी १ सय ७६ जना विदेशी पुरुष र १६ जना विदेशी महिला अभियुक्त पक्राउ परेको ब्यूरोको तथ्याङ्कमा उल्लेख छ ।

विदेशी नागरिकसमेत लागु औषध कारोबारमा संलग्न हुनुले नेपाल अन्तराष्ट्रिय रुपमै असुरक्षित छ कि भन्ने आशंका पैदा हुन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशी नागरिकलाई कडाई गराउन सुपुर्दगी सन्धीको खाँचो रहेको जानकारहरु बताउँछन् ।

अवैध कारोबारमा संलग्नलाई कारबाही गर्न लागि सुपुर्दगी ऐन बनाउनुपर्ने पूर्व प्रहरी प्रहरी अधिकारीको ठहर छ । नेपाल प्रहरीमा लागूऔषध नियन्त्रणका लागि जनशक्ति कम भएको र भएका जनशक्ति पनि दक्ष नहुँदा समस्या भएको पूर्व डिआइजी केशब अधिकारी बताउँछन् । अधिकारी भन्छन्–“नेपाल प्रहरीमा त्यसै पनि लागूऔषधको क्षेत्रमा काम गर्ने स्कील्ड जनशक्तिको कमी छ । अर्को कुरा उपलब्ध भएको जनशक्ति पनि एकदमै कम छ । अब सूचनाको पहुँच स्थापना गर्न पनि गाह्रो छ । ”
यस्ता समस्या हुँदा हुँदै पनि नेपाल प्रहरीले अब्बल रिजल्ट दिएको अधिकारी बताउँछन् ।

यता नेपाल प्रहरीले भने लागु औषध सेवन तथा कारोबार नियन्त्रणका लागि प्रभावकारी काम गरिरहेको दाबी गरेको छ । लागु औषध विदेशबाट नेपाल भित्रिन नदिन पनि सफल भएको प्रहरी प्रवक्ता विष्णुकुमार केसी बताउँछन् । विभिन्न देशबाट पार गरेर नेपाल आएपछि पक्राउ पर्नुले अन्य देशको भन्दा नेपालको प्रहरी सफल भएको पुष्टी हुने केसीको तर्क छ ।

“नेपाल प्रहरीका प्रहरी कर्मचारीहरु चाँही लागु औषधि दुव्र्यसनी, अथवा व्यापारी, कारोबारीहरुलाई एयरपोर्टबाट आउँदा पनि सुक्ष्म तरिकाले निगरानी भएको कारणले पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएको छ । ” केसीले भने ।

नेपाल प्रहरीले संकलन गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको २०७८–७९ को ११ महिनामा ९ हजार ३ सय ६१ किलो गाँजा बरामद भएको छ । ४ सय ५८ किलो चरेस बरामद भएको छ । ५८ किलो हिरोइन बरामद भएको छ । ४७ किलो अफिम, ३ किलो कोकिन बरामद भएको छ । मनोद्धिप लागुऔषध भनिने ट्याब्लेट १९ हजार ५ सय २९ वटा बरामद भएको छ । एम्पेटामाई १३ ग्राम भेटिएको ब्यूरोको तथ्याङ्कले देखाउँछ । चरेस बनाउन प्रयोग गरिने पोल्याण्ड भनिने लागुऔषध पनि ४ किलो भेटिएको छ ।

(तस्वीर : हिरोइनसहित पक्राउ परेका अफ्रिकी महिलाहरु)



प्रतिक्रिया दिनुहोस्

Screenshot