काठमाडौं, २३ असार । जर्नादन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि नयाँ अर्थमन्त्रीको खोजी भएको छ । संसदीय छानविन समितिले शर्माको विषयमा प्रतिवेदन बुझाएपछि नयाँ अर्थमन्त्री चयन हुने खुलेको छ ।
माओवादीले अर्थमन्त्रालय छाडेर गृह मागेको छ । यसकारण अर्थ काँग्रेसले लिने सम्भावना छ । प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ अर्थमन्त्रीको खोजीमा लागिसकेका छन् ।
अर्थमन्त्री बन्ने दौडमा वर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अगाडि छन् । उनी विगतमा पनि अर्थमन्त्री भएका थिए । देउवाका विश्वासपात्र कार्कीलाई लाने सम्भावना बलियो छ ।
काँग्रेस महामन्त्री गगन थापा पनि अर्थमन्त्रीका दाबेदार देखिएका छन् । उनको लोकप्रीयताका कारण पनि देउवाले अगाडि बढाउने सम्भावना नभएको होइन । थापा पनि अर्थमन्त्री बनेर लोकप्रीय कार्य गर्ने योजना साथ बढेका छन् ।
अर्थविद् डा. स्वर्णिम वाग्लेको पनि अर्थमन्त्रीमा चर्चा छ । उनी विदेशी निकायहरुमा काम गरेको अनुभव उनीसँग छ । वाग्ले काँग्रेसबाट टिकट पाएमा चुनाव लड्ने तयारीमा छन् । तर, काँग्रेसभित्र धेरै सिनियर नेताहरु रहेकाले वाग्ले स्वीकार्य हुने सम्भावना कमजोर छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि दौडमा छन् । उनलाई बनाउन आरजु देउवाले प्रयास थालेको बुझिएको छ । पौडेल देउवा परिवारका विश्वासिला हुन् ।