Logo

जनार्दन शर्माले राजीनामा दिएर षड्यन्त्र गर्नेहरुलाई जवाफ दिनुभयो : प्रचण्ड



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माको बचाउ गरेका छन् । उनले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत जनार्दन शर्मा मन्त्री हुँदा अनावश्यक विवाद उचालिएको टिप्पणी गरेका हुन् ।

पार्टीको जारी केन्द्रीय कमिटीको बैठक सुरु भएसँगै सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन् । उनले मन्त्री पदबाट राजीनामा दिएर शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको पनि दाबी गरे ।

प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने,‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो ।’

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनुका साथै पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिएको थियो ।

सम्भवत दाहालले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने छन् । केन्द्रीय समिति बैठकअघि माओवादीका पूर्व स्थायी कमिटी सदस्य खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका थिए ।

माओवादीमा महासचिव कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ । वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी रहेकाले कसलाई छान्ने विषयमा दाहाल सकसमा छन् ।

Related Video:



प्रतिक्रिया दिनुहोस्