Logo

ऐतिहासिक झोलुङ्गे पुलको संरक्षण



काठमाडौँ,२३ असार । म्याग्दी सदरमुकाम बेनी बजारको पश्चिमतर्फ म्याग्दी नदीमाथि रहेको झोलुङ्गे पुल यस क्षेत्रकै मूल्यवान ऐतिहासिक सम्पदाका रुपमा रहेको छ ।

पुरानो बजार मङ्गलाघाटमा विसं १९४४ मा निर्माण गरिएको पाति चढाउने डिल र मंगलाघाट जोड्ने उक्त पुल आजभन्दा १३५ वर्ष पहिले बागलुङको गलकोटका स्व लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयवासीको पुलमा काम गर्ने सीपलाई प्रयोग गरी सो पुल बनाएका थिए।

स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरी बनाइएको उक्त झोलङ्गे पुल तत्कालीन समयमा म्याग्दी खोला वारपारका लागि हालिएको यस क्षेत्रकै पहिलो पुल भएको बूढापाकाको भनाइ रहेको छ । बेनी बजारका ज्येष्ठ नागरिक ८१ वर्षीय नैनकुमार श्रेष्ठले काँचो फलामलाई गोलमा तताएर घनले कुटेर साङ्ले लठ्ठा बनाइ खोलामा वारपारका लागि सो पुल हालिएको आफूले आफ्ना बुबाबाट जानकारी पाएको बताए ।

अहिले पुलमा प्रयोग भएको साङ्ले लठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएको उनको भनाइ छ । तत्कालीन समयमा माथि र तल गरी दुई साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको उनले जानकारी दिए ।

विसं २०१४ मा म्याग्दीको बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनको पहलमा झोलुङ्गेलाई हटाएर झोलुङे पुलका रुपमा विकास गरिएको श्रेष्ठले जानकारी दिए । “यो ठाउँमा पुल बन्नुअघि यस क्षेत्रमा कुनै पनि पुल थिएन, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका स्थानीयवासी सबैजसो यहीँबाटो वारपार गर्थे लामो समयसम्म म्याग्दीको म्याग्दीखोला पारिका स्थानीयवासी र वारीका स्थानीय वारपार गर्ने मुख्य बाटो यही बन्यो”, श्रेष्ठले भने ।

सदरमुकाम बेनीमा रहेको जिल्लाकै पुरानो यो पुल ऐतिहासिक धरोहर भएकाले यसको संरक्षणका लागि तीन वर्ष अघि बेनी नगरपालिकाले रु तीन लाख खर्चेर मर्मत गरेको थियो । पुरानो र ऐतिहासिक महत्व बोकेको यो पुलको काठ कुहिएको र जालीसमेत तितरवितर हुन थालेपछि मर्मतका लागि वडा कार्यालयको सिफारिसमा नगरपालिकाको उक्त बजेटमा प्राविधिकको सल्लाहबमोजिम जिल्लाकै पुरानो पुलकोस्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गरिएको बेनी–७ का पूर्ववडाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएको साङ्ले लठाको तौल धेरै भएको र अहिलेको जस्तो प्रविधि नभएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायजसो सबै गाउँका बासिन्दा बेनी झेरका बताइन्छ । रासस



प्रतिक्रिया दिनुहोस्