Logo

जनार्दन शर्माको ऋषि धमलासँगको त्यो अन्तर्वार्ता, जसको कारण मन्त्रीबाट राजीनामा दिनुपर्यो (भिडिओसहित)



काठमाडौं, २३ असार । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको र करको दर हेफेर गरेको भन्ने आरोपमा उनीमाथि संसदीय छानबिन समिति गठन भएको छ । हिजो (बुधबार) को प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु राखेर ११ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

शर्माले संसद् बैठकमा आफ्नो कुरा राख्ने क्रममा छानबिन समितिलाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । उनले एउटामात्रै नभएर हजारौं छानबिनको लागि आफू तयार रहेको पनि स्पष्ट पारेका थिए । शर्माको राजीनामा सबैभन्दा पहिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मागेको हो । हालै बसेको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा नै शर्मको राजीनामा मागेका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई शर्माले राज्यविरुद्ध गम्भीर प्रकृतिको अपराध गरेको भन्दै यो क्षम्य नहुने भन्दै तत्काल बर्खास्त गर्न माग गरेका थिए । सो सम्बोधनको क्रममा ओलीले ‘एमाले को हो र ? सिसिटिभी फुटेज दिनु ?’ भदै शर्माले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताको भनेको अंश पनि सुनाएका थिए । खासगरी बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराईएको विषय मिडियामा आएसँगै शर्माको आलोचना सुरु हुनासाथ प्राइम टिभीको लागि पत्रकार धमलाले विशेष अन्तर्वार्ता लिएका थिए ।

सो अन्तर्वार्तामा धमलाले जेठ १४ गते राति के के भएको थियो भनेर मन्त्रालयको सिसिटिभी फुटेज देखाउन सक्नुहुन्छ भनेर सोधेका थिए । जवाफमा शर्माले भनेका थिए–‘सिसि क्यामेरा हेर्ने ती को हुन ? सरकारले हेर्ला नि त ? आवश्यक परे ।’ शर्माले बोल्न नभ्याउँदै धमलाले अर्को प्रश्न तेर्साए–होईन एमालेको माग छ नि ? जवाफमा शर्माले भनेका थिए–‘एमालेले सिसी क्यामेरा हेर्न चाहँदैमा हेर्न दिनुपर्छ भन्ने के छ ? त्यो त मैले गर्ने निर्णय हो र त्यो ?’ यही अन्तर्वार्ताको कारण एमाले शर्मासँग चिढिएको थियो ।

अहिले शर्माले राजीनामा दिएपछि एमालेका नेता तथा कार्यकर्ताहरुको ठूलो पँक्तिले ‘एमाले को हो भन्ने जनार्दन शर्माले थाहा पाए नि, एमाले को रहेछ’ भनेर सामाजिक सञ्जालमा पोष्ट गरेको पाईन्छ । माओवादी वृत्तमा पनि धमलासँगको अन्तर्वार्ताकै कारण शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुपर्ने एमालेको बटमलाईन पूरा भएको छ । शर्मामाथि छानबिनको लागि समिति बनेको छ ।

उसले १० दिनको म्याण्डेट पाएको छ । सो समितिको प्रतिवेदन आएपछि शर्मा दोषी वा निर्दोष के हो ? भन्ने कुरा छर्लङ हुनेछ । कतिपयले उनी दोषी सावित भए कडा सजाय दिनुपर्ने र जेल हाल्नुपर्नेसम्मको माग गरेका छन् । तर, कांग्रेस र माओवादीका प्रभावशाली नेताहरुले भने शर्मा निर्दोष सावित भए उनलाई अर्थमन्त्रीकै जिम्मेवारीमा फर्काउनुपर्ने आवाज उठाउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्