काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले उपत्यकामा संगठन विस्तार गर्न विशेष समिति बनाउने भएको छ ।
माओवादीको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा विशेष समिति बनाउने प्रस्ताव राखेका हुन् ।
बैठकमा बोल्दै प्रचण्डले अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न पनि विशेष समिति बनाउने बताए । समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने भन्दै उनले चाडै नै राष्ट्रिय सम्मेलन गर्ने समेत स्पष्ट पारे ।
क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जालमार्फत पदाधिकारी चयन गरेको लगायतका कार्यमा चरम असन्तुष्टि राख्दै पवन कार्की समुहले समानान्तर कमिटी गठन गरेको छ। जसको संयोजक कार्की रहेका छन् ।