Logo

काँग्रेसमा विद्रोहको भित्री तयारी, शेखर समूहले के गर्लान्



काठमाडौं, २३ असार । नेपाली काँग्रेसको संस्थापनइतर पक्षले केही दिन अघि विद्रोहको चेतावनी दिएको थियो । डा. शेखर कोइराला स्वयंले त्यस्तो विद्रोहको चेतावनी दिए । उनले त्यो विद्रोह रचनात्मक हुने बताए ।

कोइरालाको बोलीमा लोली मिलाउँदै काँग्रेसका उनीपक्षधर नेताहरुले पनि विद्रोहको चेतावनी दिएका छन् । यसरी चेतावनी दिनेहरुमा अघिल्लो पुस्ताका डा. चन्द्र भण्डारी देखि पछिल्लो पुस्ताका रञ्जीत कर्ण समेत छन् । कर्णले कडा शब्दमा कुनैपनि बेला पार्टीभित्र विद्रोह हुनसक्ने बताए ।

चुनाव मंसिरमा हुने गरी तयारी भइरहँदा काँग्रेसभित्र संस्थापनइतर पक्षले विद्रोहको चेतावनी दिनुलाई अर्थपूर्ण मानिएको छ । शेखर कोइराला पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल बढाइसकेको छ । भविष्यमा ओलीसँग तालमेल गर्ने तयारीका लागि अगाडि बढेको छ । यसले काँग्रेसभित्र भित्र भित्र कम्पन नै आइसकेको छ ।

शेखर कोइराला पक्षधरले आगामी चुनावमा सिट बाँडफाँडमा ४० प्रतिशतको माग गरिसकेको छ । सत्ता गठबन्धनबीच सिट बाँडफाँडको छलफल भित्र भित्र बढिरहँदा शेखर कोइराला पक्षधरले पनि कुल चुनाव लड्ने सिटमध्ये ४० प्रतिशत मागेको हो । त्यो नपाउँदा काँग्रेसभित्र ठूलै विद्रोहको सम्भावना बढेको छ । शेखर कोइराला त्यस्तो तयारीमा पनि छन् ।

शेखर कोइराला गठबन्धनबीच सिट बाँडफाँडको विपक्षमा छन् । यदि गठबन्धनबीच सिट बाँडेर चुनाव लड्ने हो भने शेखर कोइराला पक्ष काँग्रेसबाट अलग हुने सम्भावना नभएको होइन । त्यो सम्भावना कमजोर छ । यदि त्यसो नगरेमा पनि उनी पक्षधर उम्मेदवारहरु धेरै स्थानमा बागी उठ्न सक्छन् । यसको तयारी समेत गरिरहेका छन् ।

यसपटकको संसदीय र प्रदेश चुनावमा शेखर कोइराला समूहले विद्रोह गर्ने निश्चितप्रायः छ । त्यो विद्रोह काँग्रेस विभाजन या बागी उम्मेदवारीबाट पनि हुनसक्छ ।

यसैगरी, शेखर कोइराला समूहले धर्मनीरपेक्षको विषयमा कुरा उठाउन थालेको छ । संविधानमा धर्मनीरपेक्ष घुसाइएको भन्दै कोइरालाले यसको विपक्षमा बोल्न थालिसकेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्