काठमाडौं, २४ असार । डेमोक्रेटिक सोसलिस्ट एलायन्सले अहिलेको व्यवस्था परिवर्तन नभएसम्म स्वच्छ र धाँधलीरहित चुनाव हुन नसक्ने बताएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा “स्वच्छ निर्वाचन“ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उसले त्यस्तो निष्कर्ष निकालेको हो ।
एलायन्समा रहेका साना पार्टीका नेताहरुले अहिलेको व्यवस्था परिवर्तन नभएसम्म निर्वाचन निश्पक्ष र स्वच्छ हुन नसक्ने जिकिर गरे ।
एलायन्सका प्रवत्ता तथा नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीले स्वच्छ निर्वाचनको विषयमा विश्वभर बहस भइरहेको बताए । उनले भने,‘स्वच्छ निर्वाचन भनेको निष्पक्ष, स्वच्छ मतदाताको सुरक्षा, पारदर्शी मतगणना लगायत हुन् । मतगणना निष्पक्ष नभएको नेपालमा मात्रै होइन् विश्वभर नै हो ।’
साना दलका उम्मेदवार नै खरिद गर्न खोज्नेले पनि स्वच्छ निर्वाचन हुन नदिएको उनले टिप्पणी गरे । आम मानिसहरुले निर्वाचनको बेला घरमा भात नखाई उम्मेदवारको भात खान खोज्नुले पनि उम्मेदवारको क्षमता भन्दा धेरै खर्चिलो भएको उनले टिप्पणी गरे । जसरी पनि चुनाव जित्नै पर्ने पार्टी र उम्मेदवारको अभिलाषाको कारण चुनाव पछिल्लो समयमा भड्किलो बन्दै गएको उनको भनाई थियो ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले पछिल्लो समयमा देशमा कुनै पनि चुनाव निष्पक्ष हुन कसेको बताए । अहिलेको संसदीय पुजीपति व्यवस्था भएको भन्दै उनले जनताको सर्वाेच्चता देखिएपनि त्यो देखाउने खोल मात्रै भएको बताए । अहिलेको व्यवस्थामा पुँजीकै चर्चा हुने उनको भनाई थियो । उम्मेदवारले चुनावमा असिमित खर्च गर्ने भन्दै उनले नेताले गरेका अर्पादशी खर्चले जनताको हित नगर्ने उनले तर्क गरे । देश र जनताको हैसियत नहेरीकन मुलधार पार्टीका ठालु नेताहरुमने डिजाइन अनुसार नेपालमा कानुन बनाइने गरीएको उनको भनाई छ ।
चुनाव निष्पक्ष गर्न जनताको हैसियत बढाउनु पर्ने भन्दै उनले नेपाली जनताको अवस्था कमजोर भएको दाबी गरे । निश्पक्ष चुनावको लागि जनतालाई तर्साएर धम्काएर सम्भव नहुने उनको भनाई थियो । नेपालका जनताको हैसियत अनुसार आजका दिनसम्म चुनाव नभएको उनले जिकिर गरे ।
उनले अहिलेको चुनावलाई निश्पक्ष भन्न नमिल्ने तर्क गरे । इमान्दार उम्मेदवारसँग पर्याप्त पैसा नभएको भन्दै कसैले नपत्याउने पनि बताए ।
उनले निर्वाचन स्वच्छ हुन नसक्नुको कारण आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक, जातिय, क्षेत्रिय भएको दाबी गरे ।
त्यस्तै, सचेत नेपाली पार्टीका संयोजक पुण्य प्रसाद प्रसाईले पछिल्लो समयमा चुनावमा उठेका उम्मेदवारहरु गधाको संज्ञा दिए । जनताले नै स्वच्छ छविका मानिसहरुलाई उम्मेदवार बनाउनु पर्ने उनको भनाई थियो । स्वच्छ छबिका युवाहरुले कोही पनि उम्मेदवारी बन्न तयार नुहने बताए । आम पार्टीले इमान्दार व्यक्ति खोजेर राम्रा–राम्रा उम्मेदवार चुनावमा पठाउन चाहेको पनि जिकिर गरे ।
प्रसाईले देशको सुधार गर्न सबै भन्दा पहिला सिस्टम सुधार्न पर्नेमा जोड दिए । जताततै पैसाको कुरा मात्र बिक्ने उनको भनाई थियो । अहिले चलिरहेको मासु भात प्रथा र व्यवस्थाको नै परिवर्तन गर्नुपर्ने भन्दै उनले सबै मानिसले सबैभन्दा पहिला आफु इमान्दार बन्न प्रयास गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘मानिस मात्र इमान्दार नभएर पुरै सिस्टम नै इमान्दार हुनुपर्छ । सिस्टमले नै देश बलियो हुने हो । सिस्टम नै बेठिक भएको कारण देशको अवस्था विग्रिएको हो ।’ उनले ठुला दलले चुनावी खर्च उठाउन खोज्दा देशमा भ्रष्टाचार बढेको तर्क गरे ।
यसैगरी, नेपाल लोकतन्त्र पार्टीका अध्यक्ष भानुराम डंगौरा थारुले स्वच्छ निर्वाचन हुन नसक्नुको कारण जनतामा चेतनाको अभाव भएको सुनाए । जबसम्म सचेत नागरिक उत्पादन हुँदैन, तबसम्म निर्वाचन निश्पक्ष र धाधलीरहित नह्ुने उनको भनाई थियो ।
उनले भने,‘कुनै पनि पार्टीले उठान गरेका इस्युहरु जनतासमक्ष नपुर्याए उद्देश्य पुरा हुँदैन् पार्टीहरु घोषणा पत्र बोकेर दुर्गम ठाउँमा टार्गेट गरेर गाउँकेन्द्रीत हुनुपर्छ ।’
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी पुष्पलालका महासचिव मनध्वज गुरुङले नेपालमा जनतालाई ठगेर जित्ने खाल्को चुनाव भइरहेको बताए । उनले भने,‘जबसम्म नेपाली जनतालाई चेतना दिन सकिदैन तबसम्म स्वच्छ निर्वाचन हुन सक्दैन । त्यसको लागि नेपाली जनतालाई चेतनशिल र शसक्त बनाउन पर्छ। जनतालाई खान, बस्न र बाच्नको लागि राम्रो व्यवस्था नहुँदासम्म यस्तो अवस्था रहिरहन्छ ।’
चुनाव प्रतिस्पर्धात्मक र सहयोगात्मक दुई किसिमको मात्र हुनुपर्नेमा उनले जोड दिए । गुरुङले पुजीवादी राष्ट्रमा प्रतिस्पर्धा हुने र साना देशमा सहयोगात्मक चुनाव हुनुपर्ने उनले बताए । सत्तामा आफ्नो वचश्र्व कायम गर्न नेताहरुले चुनावमा पैसा बाड्ने गरेको आरोप लगाए । उनले निर्वाचन पुर्ण समानुपातिक प्रणालीमा गरेमात्रै जनतालाई खरिद बिक्रि गर्ने क्रम रोकिने बताए ।
यसैगरी, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेलले अहिलेको फोहोर प्रणालीबाट स्वच्छ नेता पाउने आशा गर्नु नै गल्ती हो । उनले नेपालमा भएको राजनीतिक सिण्डीकेटको अन्त्य गर्नपर्नेमा जोड दिए ।
पौडेलले ठुला दलको फाइदामा भएको अध्यादेशहरु अबिलम्ब खारेज गर्न माग गरे । जबसम्म राजनीतिक सिण्डीकेटको अन्त्य हुँदैन, तबसम्म जनताले सुख नपाउने उनको भनाई थियो । उनले देशमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने बताए ।
नेपाल सुशासन पार्टीका उपाध्यक्ष शंकरलाल श्रेष्ठले निश्पक्ष निर्वाचन हुन नसक्नुको कारण निर्वाचन प्रणाली नै बेठिक भएको बताए । सामन्तवादहरुले राज्य सञ्चालन गरीरहेको भन्दै उनले सधै ठुला दल सत्तामा पुग्न र त्यसको लागि भ्रष्टाचार गर्ने, एमसीसी लागु गर्ने गरेको आरोप लगाए । उनले पार्टीलाई चन्दा दिएकाहरुले नेताहरुलाई अनावश्यक काम लगाउँदा देशमा भ्रष्टाचार बढेको बताए ।
कार्यक्रममा बोल्दै आम नेपाली पार्टीको अध्यक्ष निलकण्ठ पौडेलले निर्वाचन प्रणाली पछिल्लो समय निकै खर्चिलो भएको सुनाए । उनले भने,‘उम्मेदवारहरुले चुनावमा खर्च भएको रकम उठाउनै नसक्ने अवस्थामा पुगेका छन् । सोही खर्च उठाउनै पनि भ्रष्टाचार बढेको हो ।’ उनले आफ्नो पार्टी अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व गरेको एशियाकै पहिलो पार्टी भएको दाबी गरे । देशको निर्वाचन प्रणालीमा नै गलत भएको उनको ठहर छ ।
उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले जनताको राइट टु रिजेक्ट र रिकललाई निर्वाचन आयोगले अस्वीकार गरेको बताए । आफुहरुले १० वर्ष अघि यो मुद्दा उठाएपनि कार्यान्वयन हुन नसकेको उनले स्पष्ट पारे । नेपालले बलात्कारी, ठेक्कापट्टा, फटाहाले मात्र चुनाव जित्ने सबैको मानसिकतामा बसेको आरोप लगाए ।
उनले भने,‘राइट टु रिजेक्ट र रिकल बिनाको निर्वाचन भनेको आफ्नो पाकेटमार आफैले छान्न पाउनु जस्तै हो । निश्पक्षता को ३/४ वटा प्यारामिटर हुन्छ ।’ नेपालले साना पार्टी र तीनका नेताहरुलाई सहयोग नगरेको भन्दै आपत्ति जनाए । उनले संचार माध्यमहरुले नै उम्मेदवारहरुबीच निश्पक्ष व्यवहार नगरेको टिप्पणी गरे । जनताको खास भावना र समस्या ठुला मिडियामा नभई युट्युबमा भेटिने उनले बताए । नेपालले संचारमाध्यमले नै चुनाव निश्पक्ष हुन नदिएको समेत आरोप लगाए ।
संचार माध्यमहरु, कलाकारहरु, विद्धानहरुले कमजोर सुरुको सत्यलाई कहिल्यै साथ नदिने र शक्तिमा पुगेपछि मात्र सहयोग गर्ने गरेको सुनाए । उनले भने,‘ठुला नेता र तीनका आफन्तको सम्पत्ति शुद्धिकरण गर्ने हो भने १० वर्ष कोलागि देशको खर्च पुग्छ ।’ एउटै चुनाव चिन्हबाट सबै साना दलहरु निर्वाचनमा जानुपर्ने उनको भनाई थियो ।
डेमोक्रेटिक सोसलिस्ट एलायन्सका अध्यक्ष सीपी गहतराजले नेपालको इतिहासलाई हेर्दा अब निश्पक्ष निर्वाचनको अत्यन्तै महत्वपुर्ण र आवश्यकता रहेको औंल्याए । उनले अहिलेसम्म देशमा निर्वाचन धेरै भएको उल्लेख गर्दै भने,‘२०३६ सालदेखि ०७९ सम्म आउँदा निर्वाचन निकै भड्किलो देखियो । जोसँग पहुँच र पैसा छ उसले शासन लिने र जनताले त्यसैलाई नेता मानिदिनुपर्ने अवस्था छ । त्यसको अन्त्य गर्नुपर्छ ।’
देश आवश्यकता र बाध्यताले एलाएन्स खडा भएको उनले दाबी गरे । गहतराजले जनताले चाहेको विश्वव्यापी रुपमा आएका निर्वाचन पद्धतीलाई नेपालमा लागु गर्नुपर्ने बताए । निर्वाचन पद्धतीलाई सबै साना दल मिलेर जरैदेखि उखेलेर फाल्न पर्ने भन्दै उनले भने,‘त्यसको लागि सबै साना दल एकै ठाउँमा उभिन पर्ने अवस्था रहेको छ ।’
चुनावमा उम्मेदवारले गरेको खर्च उठाउनकै लागि भनेपनि नेताले भ्रष्टाचार गर्न पर्ने वाध्यता रहेको उनले टिप्पणी गरे । अध्यक्ष गहतराजले संसदीय व्यवस्थाको जरै देखि उखेलेर फालेमात्र स्वच्छ र निश्पक्ष निर्वाचनमा जनता सहभागी हुन पाउने बताए । कार्यक्रमको सञ्चालन मानबहादुर तामाङले गरेका थिए ।