Logo

एमालेबाहेकको वाममोर्चा बन्न सक्छः भुसाल



काठमाडौं, २५ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले संघ र प्रदेशको आगामी चुनावमा नेकपा एमालेसँग तालमेलको सम्भावना नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भुसालले भने, “नेकपा एमालेसँग हाम्रो कुनै छलफल भएको छैन । संवाद नै सुरु भएको छैन भने कसरी तालमेल र सहकार्य हुन्छ ? अहिले हामी आफ्नो संगठन विस्तार र सदृढीकरणमा लागेका छौं । बरु एमालेबाहेकको वाममोर्चा बन्न सक्छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवको पार्टीलगायतका साना दलहरुसँग वाम गठबन्धन वा मोर्चाबन्दी हुन सक्छ ।”
नेकपा एमाले कम्युनिस्ट र वामपन्थी दुवै नभएको आरोप पनि भुसालले लगाए । उनले थपे, “लोकतन्त्रको विरुद्धमा उभिएको शक्ति कसरी वामपन्थी हुन सक्छ ? एमाले कम्युनिस्ट भएको भए हामीले किन छाडेर हिँड्थ्यौं र ? त्यसले कम्युनिस्ट सिद्धान्त परित्याग गर्र्यो । यतिमात्रै नभएर नेपाली जनताले बलिदान गरेर ल्याएको लोकतन्त्रलाई समाप्त पार्ने प्रतिगमनकारी कदम चाल्यो । कम्युनिस्ट भएन र त त्यसको नेतृत्वविरुद्ध विद्रोह गरेर निस्कनु परेको हो ।”
नेता भुसालले मंसिरमा प्रतिनिधिसभाको निर्वाचन हुन नसक्ने पनि औंल्याए । उनले भने, “प्रतिनिधिसभाको कार्यकाल कहिलेबाट मान्ने भन्नेमा कानुनी अस्पष्टता छ । निर्वाचन आयोगले पनि कानुनी आधारमा मंसिरमा चुनाव हुने भनेको छैन । उसको मात्र प्रस्ताव हो ।”
एकीकृत समाजवादीका महासचिव भुसालले एमालेको सरकारले नै नेपाललाई इन्डो प्यासिफिक रणनीतिको सदस्य बनाएको पनि बताए । उनले भने, “तत्कालीन् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको सदस्य बनाको होइन नेपाललाई । आफ्नो कमजोरी र अपराधका ढाकछोपका लागि एमालेले अहिले पनि निकै फरेबी गरिरहेको छ ।”
अर्को प्रसंगमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ कम्युनिस्टहरु मिलाउन नआएको पनि स्पष्ट पारे । भुसालले थपे, “उनी कम्युनिस्टहरु मिलाउन आएका होइनन्, उनले सरकारका मानिस मात्र नभएर सबै प्रमुख दलका नेताहरुलाई भेट्दै छन् । कांग्रेस पार्टीका नेताहरुलाई पनि भेट्दै छन् । उनी कम्युनिस्टहरुलाई मिलाउन आएको भन्ने कुरा मनगणन्ते हो । चिनियाँले गरेर पार्टी एकता हुने हो र !”



प्रतिक्रिया दिनुहोस्