एजेन्सी, २५ असार । जब जनतामाथि अत्याचारले सीमा नाघ्छ तब सन्नाटा छाउँछ । शासकलाई लाग्न थाल्छ जनताले केही गर्न सक्दैनन् । उनीहरुले आँधी अघिको सन्नाटा बुझ्दैनन् र चालै नपाई जनविद्रोहको सुनामी आउँछ ।
श्रीलंकामा त्यस्तै भएको छ । आर्थिक संकटले टाट पल्टेको श्रीलंकामा राजापाक्षे परिवार जनआक्रोशको तारो बनेको छ । सुरुमा तत्कालनि प्रधानमन्त्री महीन्द्रा राजापाक्षे भागेर नौसैनिकको सुरक्षा घेरामा बसे । अहिले उनका भाई राष्ट्रपति गोटाबाया राजापाक्षे भाग्नुपरेको छ ।
राष्ट्रपति भवनमा आक्रोशित जनता पसे । शनिबारको घटना सुरक्षाकर्मीको नियन्त्रणबाहिर गयो । हजारौं प्रदर्शनकारी राष्ट्रपति भवनभित्र पसे । त्यहाँको पौडीपोखरीमा पौडी खेल्न थाले ।
कुनैबेला दक्षिण एशियाको समृद्ध देश श्रीलंका चरम आर्थिक संकट झेलिरहेको छ । विदेशी मुद्रा संचिती सुन्य अवस्थामा छ । श्रीलंका इन्धन र खाद्यान्न खरिद गर्न नसकेर बाह्य शक्तिसँग हारगुहार गरिरहेको छ ।
श्रीलंका शतप्रतिशत शिक्षित जनसंख्या भएको मुलुक हो । त्यहाँ कुनैबेला प्रतिव्यक्ति आय पनि दक्षिण एशियाली देशमध्ये बढी थियो । अहिले ऋणको जालोमा परेर श्रीलंका समस्यामा परेको छ ।