Logo

शेखर कोइराला आक्रामक बन्ने भएपछि देउवाले के गर्लान्



काठमाडौं, २५ असार । नेपाली काँग्रेसको आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकमा नेता डा. शेखर कोइराला पक्षधर आक्रामक रुपमा प्रस्तुत हुने बुझिएको छ । बैठक अघि भेला गरी कोइराला पक्षधरले आन्तरिक तयारी गरिसकेको छ । जसमा रचनात्मक विद्रोह गर्ने भनिएको छ ।

शेखर पक्षधर नेताहरुले विद्रोहको चेतावनी दिन थालिसकेका छन् । उनीहरुले जिल्ला जिल्ला पुगी यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधि सभा चुनावमा टिकट बाँड्दा कम्तिमा ४० प्रतिशतको दाबी गर्ने गरी शेखर कोइराला पक्षधरले तयारी गरिसकेको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा पक्षधरविरुद्ध शेखर कोइराला पक्षधरको आक्रामक तयारीमा सरकारको कामकारबाहीमा प्रश्न उठाउने विषय पनि रहेको बुझिएको छ । महङ्गी, राजनीतिक नियुक्तिहरुमा विवाद, कतिपय विवादास्पद निर्णयहरुले पार्टीको साख गिराएको देखि गठबन्धनको भविष्यमाथि नै प्रश्न उठाउने रहेको विश्वस्त स्रोतले बताएको छ । नेताहरुले त्यही अनुसार प्रस्तुती गर्ने भएका छन् ।

शेखर पक्षधरको आक्रामक तयारीको सूचना पाएर देउवा पक्षधरले पनि कडा तयारी गरेको छ । यसकारण भोलिको बैठकमा चर्काचर्की हुने सम्भावना बढेको छ । काँग्रेसभित्र पछिल्लो समय देउवाविरुद्ध शेखर कोइराला पक्षधर कठोर बन्दै गएको छ ।

देउवाले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँग गरेको गठबन्धनमाथि शेखर पक्षधरले प्रश्न उठाइरहेका छन् । उनीहरुले केपी शर्मा ओलीसँग गठबन्धन गर्ने सम्मको रणनीति बनाएका छन् । यसले काँग्रेसभित्र नयाँ तरङ्ग ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्