काठमाडौं, असार २६ । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट पदाधिकारीतर्फ १३ जना चुनिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री गरी १३ पदाधिकारी छन् । कोषाध्यक्ष रिक्त छ ।
दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले महत्वपूर्ण जिम्मेवारी दि“दै आएका छन् । देउवाले उनलाई स्थानीय तह निर्वाचनका बेला केन्द्रीय निर्वाचन परिचालन समितिको जिम्मा दिएका थिए भने केही दिनअघि मात्रै उनी केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान संयोजकमा मनोनीत भएका छन् । अर्का उपसभापति धनराज गुरुङ जिम्मेवारीविहीन छन् ।
यसैगरी, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा संयुक्त रूपमा पार्टीको काममा एकसाथ अघि बढिरहेका छन् । उनीहरूले पार्टीलाई गतिशील बनाउने काममा आफूलाई संयुक्त रूपमै सक्रिय बनाउ“दै आएका छन् ।
थापालाई प्रधानमन्त्रीसमेत रहेका देउवाले सर्वदलीय बैठकहरूमा सहभागी गराउँदै आएका छन् भने अन्य उच्च भेटघाटमा समेत सहभागी गराउने गरिएको पाइएको छ । कांग्रेस विधानमा केन्द्रीय कार्यालय महामन्त्रीमातहत हुने, केन्द्रीय कार्यालय रेखदेख र सञ्चालन गर्ने उल्लेख छ ।
त्यस्तै, केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिको निर्णय कार्यान्वयन गराउने जिम्मेवारी महामन्त्रीको हुने वैधानिक व्यवस्था छ ।
कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारीमध्ये सभापति, महामन्त्री र कोषाध्यक्षको जिम्मेवारी उल्लेख छ । तर, कांग्रेस पदाधिकारीमा ‘जम्बो’ संख्यामा रहेका सहमहामन्त्रीहरू भने जिम्मेवारीविहीन छन् ।
महाधिवेशन सकिएको ६ महिनासम्ममा पनि उनीहरूको भूमिका कही“कतै देखिएको छैन भने विधानमा समेत ‘सहमहामन्त्रीको काम, कर्तव्य र अधिकार’ व्यवस्था छैन । राजधानी दैनिकबाट