काठमाडौं, २६ असार । चर्चित गायिका अञ्जु पन्त र उनका पति थिर कोइराला प्राइम टिभीबाट प्रशारण भएको धमलाको हमला कार्यक्रममा रोमान्टिक देखिएका छन् । पन्त र कोइरालाले आफ्नो वैवाहिक जीवन राम्रो चलिरहेको पनि सुनाए । कोइरालाले आफूले अञ्जुलाई क्रिश्चियन नबनाएको पनि दाबी गरे ।
पन्तले आफू एकपटक जीवनमा धेरै नै टुटेको र क्रिश्चियन आस्था राख्दा त्यसले पूनर्जिवन दिएको सुनाईन् । पति कोइरालाले पनि अञ्जुले प्रभुमाथि राखेको विश्वासको कारण नै उनी निको भएको दाबी गरे । अञ्जुले पनि आफू त्यसको जिउँदो प्रमाण नै रहेको सुनाईन् ।
पति थिरले भने आफूले क्रिश्चियानिटीलाई धर्म नमान्ने टिप्पणी गरे । बरु, आफूले यसलाई आस्थाको रुपमा लिएको र यसले ईश्वरसँग नजिक बनाउने गरेको उनको भनाई छ । अञ्जुले भने आफ्नो जीवन नखाएको विष लागेर मृत्युसम्म हुन लागेको पनि स्मरण गराईन् ।
उनले आफू मृत्युको मुखबाट बाँचेर आएको उल्लेख गर्दै भनिन्–‘म मृत्युको मुखबाट बचेर आएकी हुँ, सातौं पटकसम्म आत्महत्याको प्रयास गरेको छु ।’ पति थिरले भने अञ्जुको जीवनको भोगाई समेटेर छिट्टै पुस्तक ल्याउने जानकारी दिए । उनले अञ्जु कहिल्यैपनि विवादमा आउन नचाहने व्यक्ति रहेको सुनाए ।