अनिल बस्नेत
दृष्य मनोहक थियो, अनि हृदय हर्ष बिभोर…
त्यसैले, दृष्टीलाई टाढा–टाढा सम्म पुर्याएँ।
धेरै टाढा, –सयौं फिटमाथि सिधा आकास तर्फ फालिएको पानीले मनोहकतामा “बैँस“ भरिदिएको थियो अनि फर्किएर बजारीएको त्यहि पानीको ध्वनीले बैँसमा “मीठास“ थप्दै थियो।
म एक यात्री, रमाउँदै थिएँ। दृष्य र परिबेशसंगै हर्ष बिभोर बन्दै गएँ… तर त्यहि दृष्य र परिबेशलाई क्यामेरामा कैद गर्न भने भुल्दै थिएँ।
सोही बखत, कसैले मलाई पछाडीबाट सुस्तरी बोलायो। मैले फर्केर हेरें। अचम्म, अगि मैले हेरिरहेको त्यो सुन्दरता धेरै नै फिका थियो, – उनको सामू…
उनले मलाई सोधिन, “साह्रै सुन्दर छन्, यी दृष्यहरू हगी?“
मैले मुन्टो हल्लाएँ तर दृष्टि उनमै अड्याएँ।
उनी एक अपरिचीत, बोल्दै गइन। म सुन्दै थिएँ।
उनले, त्यहाँका सुन्दरताका वर्णन गर्दै थिए। म भने उनकै सुन्दरतामा हराउँदै गएँ।
अकस्मात, उनले मेरो क्यामरा मागिन। मैले दिएँ। उनी भन्दै थिइन, “दृष्यलाई हेरेर मात्रै हैन, कैद गरेर राख्नु पर्छ!“
मैले,“हुन्छ“ भने।
उनले पोज सहित, उभिन लगाईन।
म रनभुल्लमा परें।
उनले क्यामेराको नजरबाट म सहितको दृष्य नियाल्दै थिईन। म भने मेरै नजरबाट उनी सहितको दृष्य नियाल्दै थिएँ।
उनले मुस्कुराउन भनिन, म मुस्कुराएँ।
उनी भन्दै थिईन, “साह्रै मीठो मुस्कुराई दिनु भो त, रेडी वान, टू, थ्री…. खिचिक्क खिचिक्क खिचिक्क“
क्यामेरा उनले मेरो हातमा थमाई दिईन। मूस्काराउँदै सि यू भनिन!
म अवाक्क थिएँ। सम्हालीदै भने, “अनि तपाईंको नाम? कहाँबाट आउनु भएको थियो होला??“
उनले मुस्कुराउँदै भनिन, “म नर्बेली हूँ, स्वीजरल्याण्ड घुम्न आको थिएँ, अब चाहिँ फर्कन लागेको, मेरो नाम चाहिँ लिडिया हो।“
यति भनी उनी हात हल्लाउँदै मबाट बिदा भईन्। म भने उनी ओझेल नभएसम्म उनलाई पछाडीबाट हेरि नै रहें…….
आज, धेरै दिन पश्चात्, क्यामेरामा कैद फोटोहरू हेर्दै थिएँ। तर अकस्मात, उनले खिचिदिएको यो फोटो मैले भेट्याएँ। फेरि उनीसंगको छोटो भेटको त्यो सम्झना पूनः ताजा बनेर आईदियो तर अलि खल्लो र बिस्मात पनि लाग्यो किनकी, उनको तस्वीर भने मेरो क्यामेरामा कैद रहेन छ…
आज उनले भनेका कुराहरू पूनः सम्झँदै छु, “दृष्यलाई हेरेर मात्रै हैन, कैद गरेर राख्नु पर्छ!“
यात्रा, स्वीजरल्याण्ड डायरी र एक अपरिचितमित्र
(लेखक माओवादी नेता हुन् ।)