Logo

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा



काठमाडौँ,२६ असार । जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ ।

प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिकरुपमा सुन्तलाखेती गर्ने कृषकलाई निःशुल्करुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ । जोरायल क्षेत्र सुन्तला र अमिलो उत्पादनका लागि प्रशिद्ध मानिँदै आएको छ ।

कृषि विकास कार्यालयले यहाँका विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्ने कार्य सुरु गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिए। कृषि विकास कार्यालयले वितरण सुरु गरेका बिरुवामा सुन्तला, कागती, लिची, आँपलगायत रहेका छन् ।

सुन्तलाका बिरुवा कम्तीमा एक हजार २०० जति रहेको बताइएको छ । पालिकाभरिका किसानलाई सुन्तला तथा अमिलो लगायतका नगदेखेतीमा आत्मनिर्भर गर्नका लागि निःशुल्करुपमा अमिलो तथा सुन्तलाका बिरुवा वितरण गरिन लागिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्