एजेन्सी, २६ असार । जनताको शक्तिका सामु दुनियाँका कुनैपनि तानाशाहको फलामे शासन समेत तोडिन्छन् । जनताले सैनिकको कडा घेराबीच बस्ने शासकलाई समेत भगाउन सक्छन् । जब परिवारवाद, नातावाद र कृपावादले हद नाघ्छ तब जनताले सुनामी ल्याइदिन्छन् र जस्तोसुकै कठोर शासकलाई बगाइदिनसक्छन् । श्रीलंकामा त्यस्तै भएको छ ।
राजापाक्षे परिवारको शासन अन्त नजिक पुगेको छ । महीन्दा राजापाक्षे राजीनामा दिइ लुकेर बसेका छन् । उनका भाई राष्ट्रपति गोटाबाया राजापाक्षे राजीनामा दिन ठिक्क परेका छन् । उनले राजीनामा नदिएसम्म राष्ट्रपति भवन नछाड्ने भन्दै प्रदशर्नकारी भान्छा र विलासी भवनहरुमा बसेका छन् । खाना बनाएर खाँदैछन् कोही, कोही संगितको साधन बनाइरहेका छन् । कोही बगैंचामा घुमिरहेका छन् त कोही पौडी पोखरीमा पौडी खेलिरहेका छन् ।
श्रीलंकाली जनता खाद्यान्नका लागि संघर्ष गरिरहँदा राष्ट्रपतिको विलासी जीवनशैली हेर्न छिरेका छन् । उनीहरु आफ्ना शासकले गरेका गल्तीको मार खेप्नुपरेकोमा आक्रोश पोखिरहेका छन् ।
राजापाक्षे परिवारको दुई दशक लामो शासनमा श्रीलंकामा कति भ्रष्टाचार भयो भन्ने हिसाबकिताब समेत गर्न थालेका छन् । अरबौं डलर विदेश पठाइएको विषय समेत उठ्न थालेको छ । जनआक्रोश थेगिनसक्नु भएको छ ।
हजारौंको ज्यान लिएर हिंसात्मक तामिल पृथकतावादी विद्रोह दबाएका थिए राजापाक्षे परिवारले । त्यो रक्तपातको बिर्सिएको भन्ठाने राजापाक्षे परिवारले । तर, जनताले दुई दशकमा बगेको रगत पुनः सम्झिएर आक्रोश पोखे । राजापाक्षे परिवारको शासनमा भएका अत्याचार छताछुल्ल भएको छ । गोटाबाया राजापाक्षे भागेका छन् । तर, उनी श्रीलंकामा बस्न नसक्ने अवस्था बनिसकेको छ । उनीमात्र नभई राजापाक्षे परिवार नै जनताबाट असुरक्षित छ ।