दीपेश केसीः सँसारका हरेक शासक त्यो देशको माटोबाट जन्मन्छन् । जनताले शासक बनाउने हुन् । तर, शासकले नागरिकको भावना विपरितको बाटो लिएमा देश संकटमा पुग्छ पुग्छ जनताले पनि दुःख पाउँछन् । जनताले हद नाघेपछि विद्रोह गर्छन् । सँसारका मैं हुँ भन्ने शासकहरु जनविद्रोहको छालले फालिएका छन् । जनतासामु कुनैपनि शासकको केही लाग्दैन ।
भिडियोका लागि यहाँ क्लिन गर्नुहोस्
इरानका राजा थिए रोजा शाह पल्लवी । स्वीजरल्यान्डमा पढेलेखेका थिए उनी । तर, इरानको माटो बुझ्न सकेनन् । जनताको भावनाविपरित गए । त्यसकारण जनताको आक्रोशका सामु टिकेनन् । सन् १९७९ मा देश छाडेर भागे । जब देश छाडे उनले भने,‘म जब इरानमा थिए इरानी जनतालाई बुझ्न सकिनँ । अहिले मैंले इरानी जनतालाई बुझेको छु तर म इरानमा छैन ।’
फिलिपिन्समा सन् १९८६ मा जनविद्रोह भयो । त्यहाँका तानाशाह फर्डिनान्ड मार्कोस भागेर अमेरिका पुगे । उनले अरबौं डलर विदेश लगेको खुल्यो । मार्कोसकी पत्नी इमेल्डा मार्कोसको हजार जोर भन्दा बढी जुत्ताको चर्चा विदेशी मिडियामा हुन्थ्यो । उनको महङ्गा गहना, कपडा र ब्यागबारे सँसारभर चासो भएको थियो । मनिला देखि न्यूयोर्कसम्म सम्पत्ति रहेको खुल्यो । जनतालाई चुसेर ठड्याइएको महलहरु छाडेर भाग्न वाध्य भए मार्कोस । पारिवारिक विलासिता र शक्तिको अभ्यासमा केन्द्रित हुँदा जनविद्रोहले भगायो उनलाई ।
तानाशाहहरु शक्तिबाट हट्नु खतरनाक हुन्छ । त्रास र आशले मौन जनताबाट उनीहरु कुनै न कुनै बेला असुरक्षित हुन्छन् । उनीहरु या त मारिन्छन् या भाग्छन् । सँसारको इतिहासले यही देखाउँछ । मुहमद गद्दाफी लिबियाली विद्रोहीबाट मारिए । युगान्डाका शासक इदी अमिन सन् १९७९ मा भागेर लिबिया गए । पछि साउदी अरेबियामा निर्वासहत भई त्यही निधन भयो । जनविद्रोह भएपछि हैटीका शासक जिन क्लाउडी डुभालियर भागेर फ्रान्स पुगे । जायरका तानाशाह मोबुटु भागेर टोगो पुगे । टोगोले पनि उनलाई बस्न दिए । पछि मोरक्को पुगेर बसे । रोमानियाका तानाशाह निकोले सिउसिसु हेलिकोप्टरबाट भाग्न खोज्दै थिए । असफल भएपछि कारमा भाग्दै गर्दा समातिए । उनलाई फाँसी दिइयो ।
लोकतन्त्रको उर्वर माटोले कहिलेकाहीं गलत शासकहरुलाई जन्माउँछ । वेद ब्यास महाभारतमा लेख्छन्ः ‘चाहे धर्म होस् या अधर्म, चाहे सत्य होस् या असत्य सून्यमा जिउन सक्दैन । उसलाई पनि उम्रन समाजको उर्वर भूमि चाहिन्छ । प्रकाशको लागि सूर्य चाहिन्छ, चन्द्रमा चाहिन्छ या दीयो चाहिन्छ ।’ लोकतान्त्रिक भनिएका मुलुकहरुमा पनि जनताको मतको अपमान गर्ने शासकहरु जन्मन्छन् । तिनले जनताको भावना विपरित काम गर्छन् । परिवारवाद, नातावाद, कृपावादलाई प्रोत्साहन गर्छन् । अराजकता मच्चाउँछन् । अन्तमा पतनको बाटोमा पुग्छन् । उनीहरुमध्ये केहीले टेक्ने जमिन पनि पाउँदैनन् । कतिपय भने भाग्छन् ।
जनता भन्दा माथि कोही हुँदैन । लोकतन्त्रको उपहास गर्ने शासकको सुरुमा विरोध गर्छन् । तैपनि सुनेनन् भने छाल ल्याएर पाखा लगाइदिन्छन् । कहिले सत्तामा नफर्कने गरी सत्ता ढालिदिन्छन् । जनताभन्दा माथि कुनै शासक हुन सक्दैनन् र छैनन् पनि । कठोर शासन गर्ने शासकहरु समेत टुट्छन् । जनताको एकता र प्रहारका सामु कोही टिक्दैनन् ।