Logo

कांग्रेस प्रवक्ताको प्रतिप्रश्न, “कोषाध्यक्ष चयन नहुँदैमा पार्टी सभापतिलाई असफल भन्न मिल्छ ?”



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सरकार सञ्चालनमा असफल नभएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “पार्टी र सरकारको सफलता र असफलताको मापदण्ड के हो ? स्थानीय तह निर्वाचनमा पार्टी पहिलो दल बन्यो । यसलाई असफलता भन्न मिल्यो र ? वडादेखि केन्द्रसम्म पार्टी महाधिवेशन सम्पन्न भयो । केन्द्रदेखि प्रदेशसम्म पार्टीको नेतृत्व आएको छ । खालि कोषाध्यक्ष चयन नहुँदैमा असफल भन्न मिल्छ ?”
६ महिनाभित्र पार्टीका विभागलाई पूर्णता दिनुपर्ने कुरा नैतिक बन्धन मात्र नभएको डा. महतले औंल्याए । उनले भने, “हो, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने अधिकार सभापतिलाई छ । ६ महिनामा पूर्णता दिनुपर्ने नैतिक बन्धनमात्र हो । विधानको उल्लंघन होइन ।”

आज बस्ने पार्टी केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचन परिणामको समीक्षा, गठबन्धनका अनुभव आदानप्रदान, आगामी निर्वाचनको रणनीति, पार्टीलाई चलायमान गर्ने विषयमा छलफल हुने पनि कांग्रेस प्रवक्ताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्