काठमाडौं, २७ असार । परराष्ट्र मामिलाका जानकार एवम् पूर्व राजदूत डा. विजयकान्त कर्णले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण राम्रो भएको बताएका छन् । उनले यदि चिनियाँ नेताहरु नेपालका कम्युनिष्टहरुलाई मिलाउन आएको हो भने त्यो नेपालको राजनीतिमा हस्तक्षेप हुने टिप्पणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताउका हुन्।
चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा चीन स्थायी शक्तिको खोजीमा रहेको सुनाए ।
उनले भने,‘जबसम्म राजतन्त्र थियो, एउटा भरपर्दो, विश्वासिलो र दरिलो, त्यो रुपमा चीनले लिन्थ्यो । राजसंस्थाले पनि चीनसँग डाइरेक्टली डिल गर्न सक्दथ्यो । त्यसपछि जब नेपालबाट राजतन्त्र ओझेलमा पर्यो, फ्याँकियो त्यसपछि उ कन्टिन्युअस्ली मित्र शक्तिको खोजीमा छ । उसले विभिन्न पार्टीका नेताहरुलाई नजिकबाट हेर्न कोशिस गर्यो । सन् २०११ मा तत्कालिन प्रधानमन्त्री विन्जाओ नेपाल आउनुभयो, उहाँ त्यतिवेला करिब ५ घण्टाको लागि आउनुभएको थियो, त्यतिखेर नेपाली कांग्रेसको सभापति सुशिल कोइराला हुनुहुन्थ्यो, त्यतिवेला उहाँले सुशिल कोइरालालाई आर यु रिलेटेड टु विपी कोइराल भनेर सोधेको कुरा मेरो जानकारीमा आएको थियो, म पनि चीनको लागि राजदुत भएको बेलामा यदाकदा विपीको रिफेरेन्स आउदथ्यो ।’