Logo

दैलेखकी १३ बर्षिया हिरा शर्माको थप उपचारको लागि आर्थिक सहयोग आव्हान



काठमाडौं, २७ असार । चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का १३ वर्षीया हिरा शर्माको थप उपचारको लागि परिवारले आर्थिक सहयोगको आग्रह गरेको छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिराको नेपालमा उपचार सम्भव नभएपछि विदेश लैजान पर्याप्त रकम नभएको भन्दै बुवा खडक प्रसाद शर्माले सबैसँग आर्थिक सहयोगको अपिल गरेका हुन् ।

पत्रकार सम्मेलनमा शर्माले अस्पतालले दिएको सल्लाह अनुसार बच्चालाई उपचारको लागि विदेशतीर लैजान खोजेको भएपनि उपचारमा लाग्ने रकम आफुसँग नभएको जानकारी दिए ।

हिराका बुवा शर्माले काठमाडांैंमा भएका सबै अस्पतालमा उपचार गराएपनि ठिक नभएपछि अन्तिममा नर्भिक अस्पतालमा लगेको बताए । नर्भिक अस्पतालले आफ्नो बच्चाको उपचार नेपालमा सम्भव नहुने बताएपछि थप चिन्तित भएको सुनाए । अस्पतालकै सल्लाहमा विदेशतिर उपचार बारे बुझ्दा रोग निको हुने जानकारी पाएपनि ठुलो रकम लाग्ने भएपछि आत्तिएको सुनाए । शर्माले भने,‘अमेरिकाको सम्बन्धित रोग सम्बिन्ध अस्पतालमा बुझ्दा १ लाख ५ हजार ३२७ अमेरिकी डलर लाग्ने जानकारी पाए । त्यत्ति रकम अमेरिकी अस्पतालको खातामा जम्मा गरेपछि टिकेट काटेर आउनु भनिएको छ । तर, हामी सँग त्यत्रो रकम छैन् । मेरो बच्चाको उपचारको लागि सबैले सहयोग गरिदिनुहोला । छोरीलाई जसरी पनि हामी बचाउन चाहन्छौ ।’

उनले काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका जान अन्तर्वाता दिन जाँदा अस्पतालको नाम, चिकित्सकको नामसहित सबै प्रक्रिया लिएर आउन आग्रह गरेको भन्दै दुखेसो पोखे । उनले आफू अस्थायी शिक्षक भएको जानकारी दिँदै आफुले कमाएको पैसा सबै बच्चाको उपचारमा खर्चिएको सुनाए । उनले भने,‘नेपालका बिभिन्न अस्पतालले एमआरआई, भिडियो एक्सरे, एक्सरे, रगत जाँच जस्ता विभिन्न परीक्षण गर्न लगाएर २२ लाख रुपैयाँ खर्च गरायो । मलाई लुटियो ।’

शर्माले राज्यले सहयोग नगरेपनि देश विदेशमा बस्ने सबै नेपालीहरुले आफ्नो बच्चा जस्तै सम्झेर सहयोग गर्न अपिल गरे । उनले सबैलाई आफ्नो बच्चा बचाउँ अभियानमा सबैले साथ दिन पनि आग्रह गरे ।

जन्मिदा स्वस्थ जन्मिएका हिरालाई ९ वर्षदेखि युरिनरी ब्ल्याडर (२४ घण्टा पिसाब) भइरहने रोग लागेको थियो । शर्माले हिराको थप उपचारको लागि गाउँपालिका, प्रदेश सरकारमा सहयोगको अपिल गरेको तर, आजसम्म कतैबाट केही आश्वासन नपाएको दुखेसो पोखे ।
उनले हिराले २४ घण्टा पिसाब गरिरहने भएपनि हिडडुल गर्न सक्ने बताए । तर, मृर्गौलाले काम गरेसम्म हिरा बाच्ने र मृर्गौलाले काम नगरेपछि उनको मृत्यु हुने आफुलाई चिकित्सकहरुले बताएको सुनाए । नेपालका अस्पतालहरुले छोरीको उपचार बारेमा दुई वटा सम्भावना दिएको स्मरण गर्दै शर्माले भने,‘एउटा पिसाब थैली बोकेर सधै हिड्ने र अर्को जहाँ उपचार सम्भव छ त्यहाँ लगिहाल्ने ।’

शर्माले अमेरिकाको अस्पतालले पनि रिसर्च र रिकन्स्ट्रसनको विधिबाट बिरामीको प्राकृतिक पिसाब गराउन सकिने आफुलाई इमेल गरेको सुनाए । उनले हिराको स्वास्थ्यपचारमा सहयोग गर्न चाहनेहरुलाई राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सुर्खेतको खाता नम्बर ४००१०००३७३९१०१० र मोबाइल नम्बर ९८६८१८००६७ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot