Logo

देउवासँग शेखरको असन्तुष्टि



काठमाडौं, असार २८। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि पोखेका छन् ।

कोइरालाले सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयकको विरोध गर्दै देउवालाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले जस्तै असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो? भन्दै प्रश्न गरेका हुन् ।

ओली सरकारले संविधानमा भएको व्यवस्था प्रतिकूल हुनेगरी अध्यादेश ल्याएर संविधान मिचेको भन्दै उनले बैठकमा धारणा राख्दै भने, ‘ओली सरकारले संविधानमा भएको व्यवस्था प्रतिकूल हुनेगरी अध्यादेश ल्याउँदा तत्कालीन अवस्थामा हामीले कडा प्रतिवाद गरेका थियौं, के अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो?’

कोइरालाले बैठकमा धारणा राख्दै स्थानीय निर्वाचनमा गरिएको गठबन्धन प्रति पनि आपत्ति जनाए । तालमेलका कारण केही बढी सिट जिते पनि पार्टीको आदर्श र सिद्धान्त नामेट भएको र तालमेलले कांग्रेसलाई भन्दा अन्य पार्टीलाई फाइदा भएको भन्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

‘तालमेलबाट केही बढी सिट त जित्यौं तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पु¥याउन खोज्दै छौं?’ कोइरालाले बैठकमा सभापति देउवामाथि प्रश्न गर्दै भने ।

कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेलबारे पार्टीको धारणा निर्माण गर्नुपर्ने धारणा राखे ।

व्यक्ति केन्द्रित गठबन्धन गर्दा पार्टीका लागि खटिनेहरूप्रति न्याय हुनेमा समेत आशंका व्यक्त गर्दै उनले भने, ‘आगामी निर्वाचनमा व्यक्ति केन्द्रित गठबन्धन गर्दा पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त?’

बैठकमा १४औं महाधिवेशनबाट नेतृत्व मात्र चयन भएको भन्दै पार्टीको नीतिनिर्माणको विषय पनि उठेको छ । महाधिवेशन सकिएको ६ महिना बित्दासमेत पार्टीको नीति तय हुन नसकेको भन्दै सोबारे नेताहरूले नेतृत्वलाई प्रश्न गरेका हुन् । बैठकमा धेरैजसो भ्रातृ तथा शुभेच्छुक संस्थाहरू लामो समयदेखि नेतृत्वविहीन भएकोमा समेत नेताहरूले नेतृत्वको आलोचना गरेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot