Logo

नागरिकता विधेयकप्रति एमाले सकारात्मक



काठमाडौं, असार २८ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकप्रति आफूहरू सकारात्मक रहेको बताएका छन् ।

यद्यपि उनले सरकारले लामो बहस र छलफल भएको विधेयकलाई छोडेर फरक ढंगले विधेयक ल्याउने परिपाटी गलत भएको बताए । उनले नेपालीसँग विवाह गरेर आउनलाई नागरिकता दिन सात वर्ष प्रावधान राख्नुपर्ने एमालेको धारणा रहेको बताए। गैरआवासीय नागरिकलाई नागरिकता दिने विषय आफूले नै समावेश गराएको दाबी गर्दै भट्टराईले भने– ‘हामी लामो समयसम्म अल्झिएर रहेको नागरिकता विधेयकलाई पारित गर्ने पक्षमा छौं ।’

नागरिकताविहीन नेपालीलाई नागरिकता प्रदान गर्ने मुख्य उद्देश्यसहित संसद्मा विचाराधीन विधेयक पारित गराउन सरकारले सहमति जुटाउने कार्य शुरू गरेको हो ।सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गराएको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको उक्त प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

सरकारले यही असार २४ गते उक्त विधेयक फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको हो । सोही विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री बालकृष्ण खाँणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।लामो समय संसद्मा नागरिकता विधेयक विभिन्न बहानामा अल्झिएर बस्दा अन्योलता बढाएको भन्दै नागरिकता विधेयक पारित गर्नुपर्ने विषयमा सत्तारुढ दलहरूबीच सहमति जुटिसकेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्