Logo

बाबुराम भट्टराईले बोलाएको बैठकमा नजानेलाई कारबाही हुन्नः जसपा प्रवक्ता



काठमाडौं, २८ असार । जनता समाजवादी पार्टीका प्रवक्ता डम्बर खतिवडाले पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बोलाएको बैठकमा नआउने कसैलाई पनि कारबाही नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “अब फेरि एकताको प्रयास गर्ने हो कि तेस्रो वैचारिक ध्रुव खडा हुने गरी पार्टी पुनर्गठन गर्ने भन्ने निश्चित भइसकेको छैन । तर हामी पार्टी विभाजन हुँदा एकअर्कालाई आरोप लगाउने, गाली गर्ने र कारबाही गर्ने अपसंस्कृतिविरुद्धमा छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले दुईतिर बैठक बोलाउनु भएको छ । म बाबुराम पक्षको बैठकमा सहभागी हुन्छु । तर हामी बैठकमा नआउने कसैलाई कारबाही गर्दैनौं । काठमाडौंको बैठकमा जाने कि जनकपुरमा जाने, त्यो स्वतन्त्रता सबै नेताहरुलाई छ ।”
बहुमत प्राप्तले जसपाको आधिकारिकता र छाता चिह्न पाउने पनि उनले बताए । खतिवडाले भने, “जसपाको ५०७ सदस्यीय केन्द्रीय समितिमा कसको पक्षमा कति छ भन्ने ठ्याक्कै हिसाब छैन । आजको बैठकपछि नै थाहा होला । कतिपयले पार्टी छाडेको र कतिपयको निधन भएको छ । त्यसको अपडेट भएको छैन ।” कांग्रेस र एमालेका प्रगतिशील र लोकतान्त्रिक अग्रगामी पक्षधर तत्काल वैकल्पिक पार्टीमा आउने सम्भावना नदेखेको पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्