Logo

शेखर कोइराला समूहको हल्लीखल्ली केटाकेटीले खेलौना मागेजस्तै होः सहमहामन्त्री



काठमाडौं, २८ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले शेखर कोइराला समूहले पार्टीमा ‘बार्गेनिङ’ गरिरहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मन्सुरले भने, “शेखर कोइरालाको समूह चौधौं महाधिवेशनमा बहुमत कार्यकर्तालाई रिजेक्ट गरेको हो । अहिले उहाँहरु ‘हामी पनि छौं’ भनेर केही पाउनका लागि लागिरहनुभएको छ । उहाँहरुको हल्लीखल्ली केटाकोटीले खैलाना मागेजस्तो हो । पार्टीका विभाग र केन्द्रीय कार्यसमितिमा सिट पाउनका लागि गरिएको ‘बार्गेनिङ’ हो ।”
उनले स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थान दिलाएबापत पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुपर्ने पनि औंल्याए । मन्सुरले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । सबैलाई आफ्नो कुरा राख्ने अधिकार छ । शेरबहादुर देउवा पार्टी सभापति एवं मुलुकको प्रधानमन्त्री हो । पार्टीलाई ठूलो र पहिलो पार्टी भएकामा उहाँहरुले बधाई दिनुपर्ने होइन ? शेखर कोइराला समूहले होटलमा बैठक गर्दा सभापतिको मानमर्दन भयो कि भएन ? पार्टीको आन्तरिक कुरा सडकमा छताछुल्ल हुँदा मानमर्दन भएन कि भएन ? यसले कांग्रेसलाई फाइदा गर्दैन ।”
गठबन्धन गरेर नै पार्टी पहिलो भएको नबिर्सन पनि उनले कोइराला समूहलाई स्मरण गराए । मन्सुरले थपे, “शेखर कोइराला र उहाँको समूहका केही नेताले गठबन्धन गर्नुहुन्न भनिरहनुभएको छ । उहाँले हिजो आफ्नो मान्छेलाई टिकट लिएर गठबन्धनबाट चुनाव जितेको बिर्सनुभयो ? दोस्तीमा नाफा र घाटा सँगै हुन्छ । अहिले कांग्रेसमा कोही पनि गठबन्धनको विपक्षमा छैन ।”

आगामी निर्वाचनपछि को प्रधानमन्त्री बन्ने भन्ने घोषणा गर्ने बेला नभएको पनि मन्सुरले औंल्याए । उनले भने, “पार्टीका सबै कार्यकर्तालाई प्रधानमन्त्रीका लागि म लायक छु भन्ने अधिकार छ । नेपाली कांग्रेसको विधान अनुसार निर्वाचित सांसदको बहुमतबाट संसदीय दलको नेता चुनिने हो । प्रधानमन्त्रीमा अगाडि बढाउनुपर्ने आवश्यकता छ कि छैन, हामी त्यो हेरेर निर्णय गर्छौं । गगन थापा पार्टीको महामन्त्री हुनुहुन्छ । उहाँलाई गर्नैपर्छ वा गर्नैहुन्न भन्ने केही कुरा छैन ।”



प्रतिक्रिया दिनुहोस्