Logo

झलनाथ खनाललाई धमलाको प्रश्नः “तपाईंलाई त चीनको ‘एजेन्ट’ भन्छन् नि ?”



काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिस्टहरु चीनको निर्देशन चल्छन् भन्ने पश्चिमा हौवा मात्र भएको दाबी गरेका छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता खनालले भने, “विदेशी पैसा खाएर नेपालमा काम गर्नेहरुले अनेकथरी शंका गर्छन् । नेपालका कम्युनिस्टहरु चीनको निर्देशन चल्छन् भन्ने पश्चिमा हौवा मात्र हो । पश्चिमा पसलमा बिक्री भएका बुद्धिजीवीले पनि त्यसै गरी सोच्छन् ।”
तपाईंंलाई त चीनको एजेन्ट भन्दा रहेछन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, “म २०२० सालदेखि कम्युनिस्ट पार्टीमा लागेको हुँ । मैले अहिलेसम्म कसैको एक पैसा पनि सहयोग लिएको छैन । मलाई चीनको एजेन्टको भन्न प्रश्न गर्नै सुहाउँदैन । म आफूलाई मात्र कसैलाई पनि चीनको दलाली गर्ने शक्ति देख्दा पनि देख्दिनँ । जसले यस्तो भनेका छन्, तिनले सिन्काको सुतारी जति पनि बुझेका छैनन् । चिनियाँ कम्युनिस्ट पार्टीसँग हाम्रो भाइचारा सम्बन्ध छ । नेकपा एमालेमा हुँदा म लामो समय विदेश विभाग प्रमुख रहेँ । म धेरै पटक चीन गएको छु । हामी कसैको इसारामा होइन, आफ्नै बुद्धि, विवेक र बलमा चल्छौं ।”
एमसीसी संसद्बाट दुर्भाग्यवश पारित गरिएको आरोप पनि उनले लगाए । खनालले भने, “मैले पहिलेदेखि नै एमसीसी र एसपीपी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत छ भन्दै आएको छु । तर दुर्भाग्यवश संसद्बाट एमसीसी पारित भयो । मेरो पार्टीले पनि व्याख्यात्मक घोषणामार्फत भोट दियो । तर मैले भिन्न मत राखेँ । भोट दिइनँ । अमेरिकाले व्याख्यात्मक घोषणालाई अहिलेसम्म वास्ता गरेको छैन । एसपीपी रद्द गर्नका लागि पत्र नपठाइएकोमा पनि मेरो आपत्ति छ ।”

चीनसँगको सम्बन्धमा सरकारले सन्तुलित नीति लिन नसकेको पनि उनले औंल्याए । उनले भने, “चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ नेपालसँगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यसाथ नेपाल भ्रमणमा आउनुभएको हो । नेपालको भूमि आफ्नाविरुद्ध प्रयोग नहोस् भन्ने चीनको चाहना छ । तर हामीले समयमै चीनका लागि राजदूत नियुक्ति गर्न पनि सकेनौं । हाम्रो विदेशनीति सन्तुलित हुन सकिरहेको छैन । तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्रीलाई बोलाएर तिब्बती शरणार्थी क्याम्पमा लैजानु लज्जास्पद कुरा हो । एक चीन नीतिको बर्खिलाप हो ।”



प्रतिक्रिया दिनुहोस्