काठमाडौं, २९ असार । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले विकासका मन्त्रालय गठबन्धनका अन्य दलका भागमा परेकाले सरकारले एक वर्षे कार्यकालमा प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “हामी कम्युनिस्ट पार्टीका होइनौं, लोकतान्त्रिक पार्टीका सदस्य हौं । हामी भजन भण्डली होइनौं । नेतृत्वले जे गरे पनि ठीक भन्दैनौं । प्रधानमन्त्री नेपाली कांग्रेसको सभापति भए पनि गठबन्धन सरकारमा थुप्रै दलहरु पनि छन् । ऊर्जा, सहरी विकास, भौतिक योजनाजस्ता विकासमुखी मन्त्रालयको नेतृत्व अरु दलले गरेका छन् । उनीहरुमा विकासको मोडल र भोक देखिएन । पुँजीगत खर्च ५० प्रतिशत मात्र छ । गठबन्धन दलका कारण पर्फमेन्स देखाउन सकेन । तर देशको शिर झुक्ने काम भएकोे छैन ।”
नेपाली कांग्रेसका मन्त्रीहरुले राम्रो काम गरेको पनि उनले दाबी गरे । पोखरेलले भने, “गृहमन्त्रालयले ल एन्ड अर्डर कायम राखेको छ । स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमै सम्पन्न भयो । हामीले जिम्मा लिएका अन्य मन्त्रालयका काम कारबाही सन्तोषजनक छ । पाँचतिर फर्केको गठबन्धन सरकारमा समन्वय नभएको, जनजीविका सवालमा प्रभावकारी काम नभएको पनि स्वीकार्नुपर्छ । केही कमीकमजोरी पक्कै भएका छन् ।”
उनले प्राविधिक गठबन्धनले मुलुकलाई अगाडि नलाने पनि बताए । पोखरेलले थपे, “अहिले शेरबहादुर देउवाको क्याम्पबाट लड्ने केन्द्रीय सदस्यहरुले नै गठबन्धन गर्नुहुँदैन भनिरहनुभएको छ । निर्वाचन जित्न मात्र गठबन्धन गर्ने कि देश र जनतालाई अगाडि बढाउन ? फलानो नेतालाई जिताउन गठबन्धन गर्ने कि देशलाई निकास दिनका लागि ?”