Logo

एनआरएनएलाई राजनीतिकबाहेक अधिकार दिनुपर्छ : ओली



काठमाडौं, २९ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक पूर्ण अधिकार दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्री केसीसहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो ।

भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले निकै सकरात्मक रहेको बताएका थिए । ओलीले गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता नुरुप नागरिकताको निरन्तरता हुनुपर्ने बताए ।

उनले गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकारबाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए । ओलीले संविधानको भावनाअनरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता गैरआवासीय नेपालीलाई प्रदान गर्न उचित हुने बताए । उनले नेपालको राजनीतिमा आउन चहानेहरुले विदेशी नागरिकता त्याग गरेर आउनसक्ने सुझाव पनि दिए ।

भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीको मुख्य माग दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरुप गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्नेमा जोड दिए । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि देशको आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाई थियो ।

भेटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पास गरेर छिटोभन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरेका थिए । यस्तै, एनआरएनएको टोलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतसँग पनि भेटघाट गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्