एजेन्सी, २९ असार । राजापाक्षे परिवारले लोकतन्त्रको उपहास गरे । उनीहरु चुनावमा बहुमत ल्याउँथे । तर, शासनमा परिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिन्थे । यतिसम्मकी राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री देखि महत्वपूर्ण मन्त्रालय उनीहरुकै परिवारका सदस्यहरु थिए । राजापाक्षे परिवारको शासन जस्तो थियो श्रीलंकामा ।
श्रीलंकाको आर्थिक संकटको जिम्मेवार राजापाक्षे परिवार पनि मुख्य देखिए । जनताले अन्तमा विद्रँेह गरे । राजापाक्षे परिवारको दुई दशक लामो शासनमा श्रीलंकामा कति भ्रष्टाचार भयो भन्ने हिसाबकिताब समेत गर्न थालेका छन् । अरबौं डलर विदेश पठाइएको विषय समेत उठ्यो । जनआक्रोश थेगिनसक्नु भयो ।
हजारौंको ज्यान लिएर हिंसात्मक तामिल पृथकतावादी विद्रोह दबाएका थिए राजापाक्षे परिवारले । त्यो रक्तपातको बिर्सिएको भन्ठाने राजापाक्षे परिवारले । तर, जनताले दुई दशकमा बगेको रगत पुनः सम्झिएर आक्रोश पोखे । राजापाक्षे परिवारको शासनमा भएका अत्याचार छताछुल्ल भयो ।
राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री । उनका छोरा ससिन्द्रा राजापाक्षे राज्यमन्त्री । परिवारमा जो जो उमेर पुगेका थिए तीमध्ये अधिकांश मन्त्री थिए । श्रीलंका भनेकै राजापाक्षे परिवार जस्तो सन्देश गयो । लोकतन्त्रका नाममा परिवारवाद । लोकतन्त्रका नाममा मनपरीतन्त्र । श्रीलंकामा यो हदसम्मको अवस्था बन्यो ।
देशभन्दा माथि व्यक्ति हुँदैन । देशभन्दा माथि कुनै नेता विशेष पनि हुँदैन । देशभन्दा माथि परिवार हुँदैन । तर, श्रीलंकाको राजापाक्षे परिवारले देश नै आफ्नो परिवार जस्तो गर्यो । राजापाक्षेको दल श्रीलंका पिपल्स पार्टीले कोरोना भाइरसको महामारीकालमा भएको चुनावमा भारी बहुमत ल्याएको थियो । २२५ सदस्यीय संसदमा १४५ सिट जितेको थियो । राजापाक्षे परिवारमा चुनावी जीतको उन्माद देखियो । परिवारवाद हावी हुन थाल्यो । श्रीलंकाका मुख्य पदमा कि त राजापाक्षे परिवार पहिलो प्राथमिकतामा पर्दथ्यो कि त उनीहरुको नातेदार र विश्वासपात्रहरु । क्षमतावानहरु बाहिर पारिन थाले ।
दक्षिण एशियाको टापु देश श्रीलंका समृद्धीको उदाहरण थियो । शिक्षित प्रतिशत दक्षिण एशियाकै उच्च ९९ प्रतिशत छ । दक्षिण एशियाली देशहरुमध्ये प्रति व्यक्ति आय बढी भएकोमध्ये पर्दछ । तर, त्यस्तो देश टाट पल्टिएको छ । शासकहरुले राम्रा भन्दा हाम्रा खोज्न थाले । परिवारवाद हावी भयो । भूराजनीतिक संवेदनशीलता बिर्सेर विदेश नीति अबलम्बन गर्न थाले । अरबौं डलरको महङ्गो ब्याजदरको ऋण लिएर बन्दरगाह निर्माण गर्न थाले जुन सेतो हात्ति सावित भयो । श्रीलंका चरम आर्थिक संकटको दलदलमा भाँसियो ।
पर्यटन उद्दोगमा बढी भर पर्यो श्रीलंका । कोरोना भाइरसको महामारीले पर्यटन व्यवसाय खस्कियो । आन्तरिक उत्पादन निकै कम भइसकेको थियो । आयातमुखी अर्थतन्त्रको श्रीलंका पर्यटन व्यवसाय खस्किदा झन् समस्यामा प¥यो । इन्धन खरिदका लागि श्रीलंकासँग पैसा भएन । हुँदाहुँदा खाद्यान्न खरिदको पैसा भएन । मानिसहरु इन्धनको खपत घटाउन थाले । यतिसम्मकी खानेकुरा नै कम खान थाले । जनआक्रोश बढ्दै गयो ।
गोटाबाया राजापाक्षेको पूख्र्यौली घर आगजनी गरे । आक्रोश बढ्दै गएपछि तत्कालीन प्रधानमन्त्री महीन्दा राजापाक्षे भागेर नौसैनिक सुरक्षा घेरामा पुगे । उनले राजीनामा दिए । आक्रोश घटेन । गोटावाया राजापाक्षेको राजीनामा माग्न थालियो । उनी चुनाव लडेर जितेको राष्ट्रपति हुँ भन्दै पद छाड्न तयार भएनन् । जनआक्रोश बढ्दै गयो । असन्तुष्टि ज्वालामुखी बनिसकेको थियो । अन्तमा राष्ट्रपति भवनभित्रै पसे आक्रोशित जनता । राष्ट्रपतिको कक्षसम्म पुगे । राष्ट्रपति भवनभित्रको पौडीपोखरीमा पौडी खेल्न थाले । सुरक्षाकर्मीले जनआक्रोश रोक्न सकेन ।
कुनैबेला युद्ध युद्धनायक महीन्द्रा राजापाक्षे र उनका भाई गोटावाया राजापाक्षे खलनायकमा परिणत भए । दुई दशकसम्म एउटै परिवारको शासन रह्यो श्रीलंकामा । त्यस्तो परिवार जसले इतिहासको कुनै कालखण्डको योगदानलाई भविष्यसम्मको ब्याज सम्झेर सत्ताको लाभ लिन खोजिरह्यो । श्रीलंकामा विकासका नाममा जनता र देशमाथि ऋणको भार बोकाइरह्यो । थेग्न नसक्ने खालका ऋण लिएर पूर्वाधार निर्माण गरे । त्यो नै श्रीलंकाका लागि भारी बन्यो । जसको मूल्य श्रीलंकाली जनताले चुकाउनुप¥यो । देश टाट पल्टियो र जनताको आक्रोशको सुनामीले राजापाक्षे परिवारको सत्तामाथि धावा बोल्यो । राजापाक्षे परिवारको पतन भयो ।