काठमाडौं, २९ असार । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले वर्तमान सरकारले राम्रो काम नगरेको आरोप लगाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारले राम्रो काम गरेको भए समिक्षाको विषय हुने थियो भन्ने टिप्पणी गरेका छन् ।
उनले आफूहरु सरकारमा हुँदा नै खोपको व्यवस्था गरेकोले अहिलेको सरकारले खोपको अभियान पनि राम्रोसँग चलाउन नसकेको आरोप लगाए । उनले भने,‘हामीले ल्याएको खोप उहाँले लगाउने काम चाहीँ गर्नुभयो । म शेरबहादुर तामाङ आँफै स्वास्थ्यमन्त्री थिएँ, त्यतिवेला तयार गरेर ल्याईदिएको खोप शेरबहादुर देउवाहरुले लगाउन सफल हुनुभयो । यत्ति नै हो ।’
उनले केपी ओलीकै अगुवामै खोपको व्यवस्था गरेको सुनाए । उनले अरु क्षेत्रमा सरकार असफल नै रहेको जिकिर गरे । उनले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धन टिकाउन पनि सफल भएको बताए । उनले प्रधानमन्त्री देउवामा देश र जनतालाई फाईदा हुने कुराको ध्यान नभएको आरोप लगाए ।