Logo

कालजयी विषयवस्तु प्रस्तुत गर्न पाए हुन्थ्यो : डा. भट्टराई



संवार्ता : व्यक्तिगत विवरण

नाम– डा. ध्रुवप्रसाद भट्टराई
जन्मस्थान– रावा लामिडाँडा (तात्कालिक)–८, खोटाङ
पितामाता – कृष्णप्रसाद भट्टराई, सावित्रीदेवी भट्टराई
शिक्षा : प्रवीणता प्रमाणपत्र र स्नातक (शास्त्री)मा (प्रथम श्रेणीमा प्रथम)
स्नातकोत्तर (नेपाली एमए) – त्रि.वि. (प्रथम श्रेणी)
साहित्याचार्य – (तात्कालिक) महेन्द्र संस्कृत विश्वविद्यालय (प्रथम श्रेणी)
हाल : विद्यावारिधि सम्पन्न
नेपाली र संस्कृत भाषामा पत्रकारिता
— अङ्ग्रेजीका साहित्यिक रचनाको नेपालीमा अनुवाद र प्रकाशन
— राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानात्मक लेख/ रचना प्रकाशित
प्रमुख पदक÷ पुरस्कार
— महेन्द्र विद्याभूषण ‘ग’
— राष्ट्रिय शिक्षा पुरस्कार
— उत्कृष्ट वर्षशिक्षक पुरस्कार
— विविध साहित्यिक पुरस्कार

प्रकाशित कृति : ऐतिहासिक भाषाविज्ञानको पर्यवलोकन, नेपाली भाषामा संस्कृत काव्यशास्त्र र काव्यशास्त्री, भाषिक भेद, साहित्य समालोचना वाद र प्रणाली, साहित्य, भक्ति र वेदान्तको त्रिवेणीस्वरूप समीक्षात्मक ग्रन्थलगायत नेपाली र संस्कृत भाषामा विद्यालय तहका एकल तथा सहलेखन गरी विभिन्न विषयका तीसभन्दा बढी पाठ्यपुस्तकको लेखन/’प्रकाशन । अनेकौँ कविता, समालोचना, आलेख, निबन्ध, अनुवाद, अनुसन्धान प्रतिवेदन आदिको प्रकाशन ।
प्रकाशोन्मुख कृति : संस्कृत काव्यतŒव

पछिल्लो कृति : ‘द्धपूर्वीय दर्शन र नेपाली कविता’’ ।

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?

साहित्यप्रति रुचि र आकर्षण बाल्यकालदेखि नै थियो । पहाडमा औपचारिक शिक्षा प्रारम्भ हुँदै गर्दा अग्रजहरूले लय हालेर गीत गाएको, कविता पढेको देखेर र सुनेर यसप्रति आकर्षण बढ्यो । बाह्र–तेह्र वर्षको हुँदा कविताजस्तो लेखेर बुबालाई सुनाएँ, ठीकै छ भन्ने प्रतिक्रिया पाइयो । लेख्नुपर्ने रहेछ भन्ने लाग्यो । पहिलो कविता प्रकाशनचाहिँ वि.सं.२०३८ मा भयो । यो नै औपचारिक लेखनको प्रारम्भविन्दु हो ।

लेखनमा कसबाट र कसरी प्रभावित हुनुभयो ?

कुनै पनि काममा लाग्न कुनै व्यक्ति, घटना वा परिवेश मूल उत्प्रेरक कारण हुन सक्छ तापनि एउटै कारणबाट मात्र मानिस बन्छ वा बिग्रन्छ भन्ने हुँदो रहेनछ । अर्को कुरा मानिसले व्यक्तिविशेषबाट प्रभावित भएर म यो काम गर्छु भन्ने पूर्व तयारी पनि गर्दैन । यो कसैले जीवनमा केही प्राप्ति गरिसकेपछि फर्केर हेर्ने र पर्गेल्ने विषय हो । ममा पनि यही मान्यता लागू हुन्छ । पौरस्त्य साहित्यशास्त्रले प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई काव्यरचनाका समष्टि कारण मानेको छ । मम्मटले “इति हेतुर्न तु हेतवः” भन्नुको कारण यही हो । म पनि यसमा अपवाद भइनँ । अहिले समाज र सन्दर्भ भिन्न छन् । काव्यशास्त्रीय नयाँ चिन्तन र अवधारणा पनि विकसित हुँदै छन् । यही सेरोफेरोमा रहेर यसलाई हेर्नुपर्छ । आत्ममूल्याङ्कन गर्दा तीन पक्षले प्रभाव पारेको अनुभव भएको छ– नेपाली लालित्यप्रधान साहित्य, संस्कृत साहित्य र विशेषतः कालिदासको काव्यकला र अठारौँ–उन्नाइसौ शताब्दीमा फस्टाएको रुमानी अङ्ग्रेजी कविताधारा । स्नातक तहमा पढ्दै गर्दा यस्ता कृतिको अनुशीलन गर्ने अवसर आयो; बुझ्दै गएपछि रस बस्यो र लेख्ने प्रेरणा पनि जाग्यो । आर्ष वाङ्मय, सभ्यता र संस्कृतिका मानवकल्याणकारी पक्ष एवम् नेपालको प्राकृतिक सौन्दर्यले पनि लेखनमा परोक्ष उद्दीपन गरे होलान् जस्तो लाग्छ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?

नलेखेर केही हुँदैन तर हाम्रो देशको सन्दर्भमा लेखेरमात्र जीवनयापन गर्न पनि कठिन छ । पुगीसरी आएका र परिवारको व्यवस्थापन गरिसकेका केही व्यक्तिबाहेक श्रम र सङ्घर्ष गरेर जीवन निर्वाह गर्नुपर्ने मानिस यहाँ पूर्णकालीन लेखक बन्न सक्तैन । बचेको समयको सदुपयोग गर्दै र प्राथमिकता निर्धारण गर्दै लेख्ने हो । लेखनका लागि समय ज्यादै कम बच्छ । समय भइहाल्यो भने पनि उत्कृष्ट सिर्जना हुन्छ भन्ने हुँदैन । बलपूर्वक गरिएको सिर्जना ग्राह्य पनि हुँदैन । लेखनका प्रारम्भिक चरणमा अरूभन्दा म राम्रो लेख्छु जस्तो लाग्थ्यो, अहिले लाग्छ– मभन्दा अरू नै बढी राम्रो लेख्छन् । लेखन सकिएको छैन तर कालजयी विषयवस्तु प्रस्तुत गर्न पाए हुन्थ्यो भन्ने लोभले लेखनलाई तुलनात्मक रूपमा शिथिल बनाएको छ ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

अहिले नेपाली साहित्यमा विभिन्न विधा, विषयवस्तु र प्रस्तुतीकरण पाइन्छन् । तिनमा नयाँ प्रयोग र उपलब्धि पनि देखिन्छ । क्षणिक मनोरञ्जन दिने होइन– व्यक्ति र समाजलाई मार्गनिर्देशन गर्ने र अन्तर्जगत् परिष्कृत पार्ने साहित्यमात्र शाश्वत हुन्छ । साहित्यले मानवमूल्यको संरक्षणमा सर्वाधिक जोड दिनुपर्छ र सबैभन्दा ठूलो कुरा साहित्य राजनीतिक आग्रहबाट मुक्त हुनुपर्छ । साहित्य स्वतन्त्र साहित्यमात्र हुनुपर्छ । अहिलेको लेखन साहित्यको अनुशासनबाट केही विचलित हुँदै गएको सत्य हो । त्यस्तो लेखनप्रति सन्तुष्ट हुने अवस्था छैन ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

नेपाली र संस्कृत भाषासाहित्यका क्षेत्रमा गरेका कामबाट दैनिक नयाँ कुरा सिक्न र अनुभव आर्जन गर्न पाइएको छ । यस क्रममा एउटा प्रश्नले सधैं घच्घच्याइरहन्छ– सबै भाषाभाषीले सबैभन्दा छिटो सबैभन्दा सजिलोसँग संस्कृत कसरी सिक्लान् ? यसको समाधानका लागि एउटा पुस्तक तयार पार्ने सोचाइ छ । त्यस्तो पुस्तक जुन पढिसकेपछि संस्कृत नपढी नहुने रहेछ भन्ने अनुभूति सबैलाई हुन सकोस् । कहिले तयार होला र निस्केला– त्योचाहिँ म पनि भन्न सक्तिनँ ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

साहित्य र स्रष्टाले राष्ट्रको भौतिक निर्माण नगरे पनि बौद्धिक निर्माण गर्दछन् । बौद्धिक सम्पत्तिको मूल्य मापन गर्न सकिँदैन । वाल्मीकिरामायण, महाभारत, रामचरितमानस, भानुभक्तको रामायणले जनसमुदायमा सञ्चार गरेको बौद्धिक सम्पत्तिको मूल्य कसले नाप्न सक्छ ? त्यस्तो सम्पत्ति र त्यसका सर्जकप्रति राष्ट्रको पूर्ण दायित्व हुनुपर्छ । साहित्यलाई लगानी र उत्पादनको अर्थशास्त्रीय गणितका आँखाबाट हेर्नुहुँदैन ।

तपाईंको साहित्यिक आदर्श के हो ?

‘साहित्य’ शब्दको एउटा अर्थ ‘हितले युक्त’ पनि हो । त्यसैले साहित्य सबैको हित गर्ने हुनुपर्छ । साहित्यको एउटा प्रयोजन कान्तासम्मित उपदेश हो । समझदार प्रेमिकाले सभ्य र शालीन व्यवहारबाट पथभ्रान्त प्रेमीलाई सही बाटोमा ल्याएर शान्त र सुखद जीवन बिताएजस्तै साहित्यले मीठो भाषामा खराबलाई असलमा बदल्न सक्नुपर्छ । ‘सत्यम्, शिवम्, सुन्दरम्’ लाई सुरुचिपूर्ण शैलीमा प्रस्तुत गर्ने भाषिक कला नै आदर्श साहित्य हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

समाज र राष्ट्रप्रति कर्तव्यबोध भएका र साहित्यको मर्म अनि मूल्य बुझेका लेखकले अवश्य पनि वहन गरेका छन् । यसभन्दा भिन्न वर्गले साहित्यलाई कलङ्कित पनि पारेको छ ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

लेखिइसकेपछि सन्तुष्टि हुने तर प्रकाशन गरेर केही समयपछि हेर्दा असन्तुष्टि हुने रहेछ । यो थप्न पाए हुन्थ्यो, यसलाई यसरी दिन पाए हुन्थ्यो आदि । विभिन्न पुस्तकका परिष्कृत र परिमार्जित संस्करण प्रकाशन हुनु भनेको एक प्रकारको असन्तुष्टिकै तुष्टीकरण हो । मलाई पनि अझ राम्रो गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

हिजोको साहित्यमा साहित्यिक तŒव र गुण बढी थिए । साहित्य साहित्यकै सीमामा स्वतन्त्र थियो– आज त्यस्तो छैन । साहित्यको विधागत अनुशासन भङ्ग गरेर र पौराणिक–ऐतिहासिक विषयवस्तुलाई आफूअनुकूल व्याख्या गरेर लेखेको साहित्य कसरी साहित्य हुन सक्छ ? अतिशयोक्ति नमानियोस्– यो एक प्रकारको साहित्यिक भ्रष्टाचार नै हो । त्यसैले कसै/कसैको साहित्य अराजकताको भुमरीमा पसेको छ र विवादास्पद पनि बन्न पुगेको छ । सबैतिर सबैका लागि अनुशासन चाहिने, साहित्यलाई चाहिँ नचाहिने हुन्छ र ?

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

मानिसले आन्तरिक र बाह्य व्यक्तित्वलाई उन्नत बनाउन सकोस् । सबैमा बन्धुताभाव विकास हुन सकोस् । राष्ट्र र राष्ट्रिय सम्पदाप्रति गौरवबोध हुन सकोस् । समाजले अपनत्व अनुभव गर्न सकोस् । उदीयमान सन्ततिलाई सत्कर्मका लागि बौद्धिक ऊर्जा प्राप्त हुन सकोस् । साहित्य यस्तै लेखिनुपर्छ ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?

पढेका कुनै महत्त्वपूर्ण अंश, ज्ञानको हस्तान्तरण गर्ने आकाङ्क्षा, नयाँ खोजी गर्ने रुचि नै लेखनका प्रेरक–स्रोत हुन् । कीर्ति रहोस् भन्ने कामनाले चाहिँ मलाई लेखनमा कहिल्यै प्रेरित गरेन । यस पक्षमा म भिन्न पनि हुँला ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

तोकिएको छैन । नियमित निर्धारित कामबाट बचेको समय र बिदाका दिनलाई नै लेखन–काल मान्नुपरेको छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

मानसिक र भौतिक रूपमा शान्त तथा अनुकूल वातावरण लेखनका लागि सामान्यतः पहिलो सर्त हो । सम्भवतः सबैलाई यस्तै वातावरण चाहिन्छ होला ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

रुचि, आवश्यकता र उपयोगिता विषयवस्तु चयनका आधार हुन्छन् ।

सफल स्रष्टाका आवश्यक गुण के.के हुन् ?

साहित्य सबैका लागि प्रिय हुनुपर्छ । कसैको अपमान र अवमूल्यन गरेर लेखिएको साहित्यले क्षणिक रूपमा कसैलाई तुष्टि देला तर त्यसको माथि उल्लेख भएझैँ शाश्वत मूल्य रहन सक्तैन । सच्चा स्रष्टा हुने हो भने जाति, धर्म, लिङ्ग, भूगोल र राजनीतिबाट निरपेक्ष हुनै पर्छ । साहित्य सबै मानिसका लागि लेखिनुपर्छ । निर्दिष्ट लेखनले स्रष्टाको कीर्ति अमर बन्न सक्तैन ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?

यो विषय पाठकको रुचि, साहित्यको विधागत विकास–विस्तार र प्रस्तुतीकरणको कौशलमा पनि भर पर्छ । बजारमा सुनका करुवाभन्दा प्लास्टिकका जग बढी बिक्छन् । साहित्यको स्थिति पनि त्यस्तै छ । अहिले महाकाव्य पढ्ने रुचि, फुर्सद र धैर्य कसैलाई छैन । चुट्किले साहित्य सुन्यो÷पढ्यो, ताली पड्कायो, एकछिन हाँस्यो अनि सकियो । विभिन्न कारणले छोटा विधाप्रति पाठकको रुचि बढ्दै गएको छ । अङ्ग्रेजी साहित्यमा लामो नाटक हेर्नुभन्दा छोटो नाटक हेरेर नै दर्शक सन्तुष्ट हुन थालेपछि एकाङ्की विधाको विकास भएको मानिन्छ । तर पनि कथा र उपन्यास विधाप्रति बढी आकर्षण छ जस्तो लाग्छ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

यथार्थ, कल्पना र स्रष्टाको दृष्टिकोणको समन्वय साहित्य भएकाले यी तीन तत्वको मात्रा बराबर हुनुपर्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?

नीतिशास्त्रमा एउटा भनाइ छ– ज्ञानीले अर्को ज्ञानीबाट भन्दा मूर्खबाट बढी ज्ञान सिक्छ । कसैका लेखन र भाषणमा देखिने अति सामान्य त्रुटिबाट पनि केही त लेख्नै प¥यो भन्ने लाग्छ । यस्ता विषयमा लेखहरू प्रकाशन भइसकेका पनि छन् । कहिलेकाहीँ प्रतिकूल आवेगले पनि लेख्न प्रेरित गर्दोरहेछ । भानुभक्तले सासू–बुहारीको रातभरिको दन्तबझानबाट झोक चलेर वधूशिक्षा लेखेको कुरा गरेका छन् । कसैको सुधार होस्, ऊ उपहासको पात्र नबनोस् भनेर पनि लेख्नुपर्ने बाध्यता उत्पन्न हुन्छ ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?

धेरै समय चिन्तन गर्ने, सबैको प्रिय र स्वत्व–बोध गराउने विषय चयन गर्ने, प्रशस्त कृति पढ्ने, भाषामा अधिकार राख्ने, लिखित विषयको वारम्वार परिष्कार गर्ने र आफैँले मूल्याङ्कन गर्ने अनिमात्र प्रकाशन गर्ने । माधव घिमिरेले भनेझैँ एउटा सानो र सरल कृतिमा पूर्ण संसार अटाउन समर्थ साहित्यको रचना गर्न अभ्यास गर्ने ।

किन कोही स्रष्टा दलको झन्डामुनि ओत लाग्ने रहर गर्छन् ?

पौरस्त्य दर्शनले मानिसमा एषणात्रय हुने कुरा गरेको छ– पुत्रैषणा (छोरो पाउने इच्छा), लोकैषणा (समाजमा मानमर्यादा, पदप्रतिष्ठा पाउने इच्छा) र वित्तैषणा (धन कमाउने इच्छा) । राजनीतिक दलले छोरो पाउने इच्छा पूरा गरिदिन्छन् वा दिँदैनन् भन्न सकिँदैन तर लागिरह्यो भने लोकैषणा र वित्तैषणा पूरा गरिदिन्छन् । साहित्यका कखरा थाहा नभएका दलका सामान्य अरौटे कार्यकर्ता राज्यका प्रतिष्ठित साहित्यिक संस्थाका वरिष्ठ हर्ताकर्ता भएका अनेक उदाहरणबाट यही तथ्य प्रमाणित हुन्छ । स्रष्टा पनि वीतरागी त होइन– एषणायुक्त प्राणी भएकाले देशको युगधर्मअनुसार झन्डा समाउनु स्वाभाविकै मान्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot