Logo

‘कांग्रेसमा प्रधानमन्त्रीको उम्मेद्धवार बन्न गगन थापा अस्विकार्य’



काठमाडौं, २९ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसमा अहिले गगन थापा प्रधानमन्त्रीको रुपमा स्विकार्य व्यक्तित्व नभएको बताएका छन् । पछिल्लो समय गगन थापाले आफू आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा नै प्रतिष्पर्धामा उत्रिने बताएपछि आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

आचार्यले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै भनेका छन्–‘कांग्रेसमा अहिले गगन थापालाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको छैन् ।गगन प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा स्विकार्य पनि होईनन् । प्रधानमन्त्रीको उम्मेद्धवारमा शेरबहादुर देउवाजीको विकल्पमा शेखर कोइराला नै हो ।’ युवा नेता प्रदीप पौडेलले पनि अहिले पार्टीले आगामी निर्वाचनमा प्रधानमन्त्री कसलाई बनाएर जाने भन्नेबारे कुनै छलफल नै नगरेको बताएका छन् ।

कांग्रेसमा थापाको घोषणाले तरंग सिर्जना गरेको छ । पाका नेताहरुले थापा अझै प्रधानमन्त्री बन्न योग्य नभएको भनेर बहस छेड्न थालेका छन् । पार्टीमा लामो समयसम्म योगदान पुर्याएका नेताहरु हुँदाहुँदै युवा पुस्ताले नेतृत्व लिने नाममा यस्तो घोषणा गर्नु गलत हुने र यसले पार्टीलाई नै घाटा हुने उनीहरुको विश्लेषण छ ।

पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा समेत नेताहरुले महामन्त्री थापाको आलोचना गरेका छन् । उनीहरुल्े मिडिया खपतका लागि पार्टीले दिएको पद दुरुपयोग गरेको सम्म भन्न भ्याएको चर्चा छ । आज (बुधवार) को बैठकमा बोलेका ४८ जनामध्ये अधिकांशले महामन्त्री थापाको भूमिकाको आलोचना गरेका थिए । उनीहरुले थापालाई मिडिया मेन नबन्न आग्रह गरेका थिए ।  file photo



प्रतिक्रिया दिनुहोस्