काठमाडौं, ३० असार । आगामी असार ३२ गते ठमेल पर्यटन विकास परिषदको नयाँ नेतृत्व चयनको लागि निवार्चन हुँदैछ । नेतृत्वको लागि दुइटा समुहको प्यानल नै प्रतिस्पर्धामा उत्रिएको छ । ध्रुव अधिकारीको समुह र भविश्वर शर्मा समुह चुनावी मैदानमा उत्रिएको हो ।
भविश्वर अधिकारी समुहले शनिबार हुने निर्वाचनका लागि १८ बुंदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
‘हिजोको होइन, भोलिको ठमेलको अब हाम्रो एजेन्डा हो । हाम्रो उद्धेश्य भन्नु नै यति मात्र हो, ‘राम्रो ठमेल, हाम्रो ठमेल’ ।’–प्रतिवद्धता पत्रमा अध्यक्षका प्रत्यासी शर्माले उल्लेख गरेका छन् ।
यस्तो छ भविश्वर शर्माले गरेको १८ बुंदे प्रतिवद्धतापत्र
ठमेल एउटा भूगोलमात्र नभएर समग्र नेपाली पर्यटनको आइकन पनि हो । ठमेल आजका दिनमा टुरिष्ट हवमात्र रहेन, यसले एक अनिवार्य डेस्टिनेसनको हैसियत पनि प्राप्त गरिसकेको छ । यो अन्तराष्ट्रिय स्तरको पर्यटन व्यवसायको क्षेत्र मात्र नभई, परापूर्वकालेदेखि जीवन्त रहेको स्थानीय संस्कृतिको सुन्दर स्थल पनि हो । यस प्रकारको विशेष संगम स्थल ठमेलको बहुआयामिक विकास र प्रभावकारी व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेकोबारे हामी (भविश्वर शर्मा समूह) सचेत र संकल्पकृत छौं ।
ठमेलले विशेष व्यवसायिक बहुआयाम हासिल गरेसँगै अनेक समस्याहरु पनि बेहोर्न थालेकोबारे हामी चिन्तित छौं । यहाँका समस्याहरुका समाधान र सम्भावनाहरुको खोजी गर्दै त्यसको कार्यान्वयनमा ठमेल र यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुसँग हातेमालो गर्दै हाम्रो समूह मन, वचन र कर्मले अगाडि बढ्न प्रतिबद्ध छ । यसका लागि हाम्रो समूहमा आत्मविश्वास र अनुभवले भरिपुर्ण साथीहरु समावेश हुनुहुन्छ । त्यसैबाट सम्भव छ, ‘राम्रो ठमेल, हाम्रो ठमेल’ ।’
हामी कुराभन्दा काममा विश्वास गर्छौं । हिजोको होइन, भोलिको ठमेलको अब हाम्रो एजेन्डा हो । हाम्रो उद्धेश्य भन्नु नै यति मात्र हो, ‘राम्रो ठमेल, हाम्रो ठमेल’ ।’ ‘राम्रो ठमेल, हाम्रो ठमेल’’ निर्माणका लागि हाम्रा संकल्प यस प्रकार छन् ।
१. विशेष पर्यटकीय क्षेत्र घोषणा
नेपाल सरकारबाट औपचारिक रुपमै ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गराउन प्रभावकारी पहल गरिनेछ ।
२. शान्ति सुरक्षा
सबै सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरी चुस्त दुरुस्त शान्ति सुरक्षा कायम गर्न गराउन प्रभावकारी भुमिका खेलिनेछ । शान्तिसुरक्षा व्यवस्थित गर्न ठमेल क्षेत्रमा ५ सय सिसी क्यामरा जडान गरिनका साथै आवश्यकता अनुसार सर्भिस सेक्टरमा ५० सादा पोशाकका प्रहरीलाई परिचालनका लागि सरोकारवाला पक्षसँग प्रभावकारी समन्वय गरिनेछ ।
३. ट्राफिक व्यवस्थापन
सरकोरवाला सबैलाई मान्य हुने गरी वैज्ञानिक ट्राफिक प्रणालीको कार्यान्वयनमा जोड दिदै ठमेललाई अझ व्यवस्थित बनाउन प्रभावकारी पहल गरिनेछ ।
४. फोहोर व्यवस्थापन
प्रभावकारी फोहोर व्यवस्थापनमार्फत ठमेललाई शतप्रतिशत प्रदुषणरहित बनाउन पहल गरिनेछ । फोहोरमात्र होइन, ध्वनि र दृश्य प्रदुषण नियन्त्रणका लागि पनि आवश्यक पहल गरिनेछ । सरसफाइको लागि राति १ बजेदेखि बिहान ५ बजेसम्म सरसफाइ गर्ने र बिहान ५ देखि ७ बजेसम्म ठमेलका सबै बाटा पानीले पखाल्न महानगरपालिकासँग समन्वय गरिनेछ ।
५. सडक तथा ढल व्यवस्थापन
दीर्घकालीन र तात्कालीन दुवै रुपमा ठमेलको सडक र ढलको प्रभावकारी व्यवस्थापनका लागि उचित पहल गरिनेछ ।
६. तार तथा सडक बत्ती व्यवस्थापन
बिजुली लगायतका तार तथा सडक बत्तीको उचित व्यवस्थापन गरी ‘उज्यालो ठमेल’को अवधारणलाई प्रभावकारी व्यवस्थापन गर्दै वायरलेस ठमेल बनाइनेछ ।
७. विकृतिमुक्त ठमेल
व्यवसायमात्र होइन, पछिल्ला केही बर्षदेखि यो क्षेत्रमा अनेक खालका विकृतिहरु पनि देखापर्दै आएका छन् । विकृतिजन्य कृयाकलाप र हकर तथा ब्रोकरसम्बन्धी समस्याहरुका बारेमा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरी त्यसबाट ठमेललाई मुक्त गरी सभ्य ठमेल बनाउन कुनै कसर बाँकी राखिने छैन ।
८. व्यवस्थित ठमेल
फुटपाथ, नाङ्लापसले, फलफुल व्यापारी आदिका कारण सिर्जित अव्यवस्थालाई व्यवस्थापन गरी व्यवस्थित ठमेल बनाउन उचित पहल गरिनेछ ।
घरपेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध
घरपेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध निर्माणका लागि आवश्यक चेतनामुलक कार्यक्रमहरु गरिनेछ । बेलाबेलामा दुवै पक्षलाई राखेर उनीहरुबीच अन्तरकृयात्मक कार्यक्रम गर्ने जसबाट हामी एकै परिवारका हौं भन्ने भावना अझ बलियो होस् ।
९. स्थानीय रितिरिवाज र संस्कृतिको जगेर्ना
स्थानीय रितिरिवाज र संस्कृतिको जगेर्नाका लागि बेलाबेलामा गरिने स्ट्रिट फेस्टिबलमा स्थानीय झाँकीहरु प्रदर्शन गर्न प्रोत्साहन गरिनेछ ।
१०. अनिवार्य गन्तव्य
ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यको रुपमा विकास गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटनसँग सम्बन्धित अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरी प्रभावकारी पहल गरिनेछ ।
११. व्यवस्थित पार्किङ
व्यवस्थित ठमेलका लागि पार्किङ एउटा महत्वपुर्ण फ्याक्टर हो । त्यसका लागि सम्भावित विकल्पहरुको खोजी गर्दै पार्किङ व्यवस्थापनको लागि प्रभावकारी पहल गरिनेछ ।
१२. गोलमेच
ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकीय आकर्षणका हिसाबले अझ सबल बनाउन आवश्यक पर्दा ठमेलसँग सम्बन्धित सबैलाई एकै थलोमा आमन्त्रण गरेर गोलमेच आयोजना गरी थप प्रभावकारी रणनीति बनाइने ।
१३. गुनासो बक्स
परिषदमा एउटा गुनासो बक्स राखिनेछ, जहाँ परिषद्का कुनै पनि सदस्यले ठमेलका कुनै समस्यापत्रलाई हाल्न सक्नेछ । समस्यापत्रको अध्ययन गरेर आवश्यक पहल लिइनेछ ।
१४. सम्पदा भ्रमण
ठमेल व्यवसायिक केन्द्रमात्र होइन, यो त सम्पदास्थल पनि हो । अनेक मन्दिर, बहाल, चोक र गल्लीहरुको उचित व्यवस्थापन र प्रचारसहित ‘ठमेलमा सम्पदा भ्रमण’को अवधारणालाई विकास गर्दै पर्यटकको नेपाल बसाईलाई कम्तीमा अरु एक दिन लम्ब्याउन प्रेरित गर्न आवश्यक समन्वय र पहल गरिनेछ ।
१५. निशुल्क तालिम
ठमेलका अनेक ब्यवसायमा कार्यरत कर्मचारीहरूलाई समयानुकुल दक्ष बनाउनका लागि आवश्यकता अनुसार निशुल्क तालिम सञ्चालन गरिनेछ ।
१६.पर्यटन व्यवसायी कार्ड
ठमेलमा पर्यटन ब्यवसाय गर्ने ब्यवसायीहरूलाई परिषद्बाट पर्यटन व्यवसायी कार्ड वितरण गरिनेछ ।
१७. सेल्फीस्ट्रिट
होर्डिङबोर्ड र तारलाई ब्यबस्थित बनाएर बाटो र खाली वालहरूमा इलेक्ट्रिक आर्ट गरी सेल्फीस्ट्रिटको रूपमा विकास गर्ने ।
१८. विविध
डिजिटल ठमेल, वाकिङ फ्रेन्ड्ली ठमेल, ठमेलको वैज्ञानिक र प्रस्ट म्यापिङ, फ्रि वाइफाई ठमेल, सडक मेला, पर्यटक फुटपाथ, आन्तरिक पर्यटन प्रवद्र्धन, रात्रीकालीन व्यवसायको वैज्ञानिक व्यवस्थापनलगायत ठमेलसँग सम्बन्धित कुनै पनि समस्या र सम्भावनाबारे आवश्यक समन्वय र प्रभावकारी पहल गरिनेछ ।