Logo

प्रचण्ड किन भारत जाँदैछन्



काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारतसँगको सम्बन्धमा उतारचढाव आइरहन्छ । जनयुद्धका बखत उनी लामो समय भारत बसे । जनयुद्ध चलिरहँदा भारतसँग सम्बन्धमा चीसोपन आएपछि सुरुङयुद्ध गर्ने सम्म भने ।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा भारतसँगको सम्बन्ध सुदृढ बनाए । तर, सत्ताबाट हटेपछि बानेश्वरमा आयोजित विरोध सभामा उनले खुलेरै भारतको विरोध गरे ।

प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री बन्दा गोवामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकैपटक भेटवार्ता गरे । उक्त भेटको तस्बिर ऐतिहासिक मानिन्छ ।

प्रचण्ड फेरि भारत भ्रमणमा जान लागेका छन् । उनी ३१ असारमा भारत भ्रमणमा जानेछन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारत जान लागेका हुन् । सैद्धान्तिक रुपमा माओवादी कम्युनिस्ट सिद्धान्त अंगिकार गर्छ । भाजपा कट्टर कम्युनिस्ट विरोधी पार्टी हो । उसले हिन्दूत्वलाई सिद्धान्त मानेको छ । विपरित सिद्धान्त बोकेपनि प्रचण्ड भाजपा नेताबाट निम्तो गरिनु अर्थपूर्ण छ ।

नेपालमा संसदको चुनाव मंसिरमा गर्ने तयारी भइरहेको छ । चुनावको मिति घोषणा गर्नु ठिक अघि प्रचण्ड भारत भ्रमणमा जाँदैछन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने चर्चा छ । विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।

पछिल्लो समय प्रचण्ड चीनबाट केही टाढिएका छन् । उनी भारतसँग नजिक बन्दै गएका छन् । यसबीच प्रचण्डले भारत भ्रमणको निम्तो पाउनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्