काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठको कामबाट प्रभावित बनेका छन् । श्रेष्ठले राज्यमन्त्रीको रुपमा देश र जनताको हितमा हुनेगरि सक्रिय भूमिका खेलेको भन्दै देउवाले प्रशंसा गर्न थालेका छन् । मन्त्रीहरुको उपस्थितिमा नै प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठको जस्तो काम गरेर देखाउन भन्ने गरेका छन् ।
खासगरी श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चार महिना रहँदा नै आफ्नो क्षमता देखाएका थिए । उनले कोभिडको खोप व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेका थिए । त्यतिवेला नै उनको सार्वजनिक तहबाट नै प्रशंसा हुने गरेको थियो । तर, गठबन्धनको कारण देउवाले उनलाई उक्त जिम्मेवारीबाट ब्रेक लगाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याएका हुन् ।
अहिलेपनि श्रेष्ठलाई फूलमन्त्री बनाउन पार्टीभित्रैबाट दबाब छ । लामो समय शिक्षा क्षेत्रमा सक्रिय श्रेष्ठ व्यक्तिगत लोभ नभएका नेताको रुपमा परिचित छन् । प्रधानमन्त्री देउवाको विश्वासपात्रको रुपमा सक्रिय श्रेष्ठले गठबन्धनका शीर्ष नेताहरुसँग पनि समन्वयकारी भूमिका खेलेका छन् । आगामी संसद्को निर्वाचनमा श्रेष्ठ चितवनबाट प्रत्यक्ष निर्वाचन लड्ने चर्चा छ । चितवनवासीमा उनी अत्यन्तै लोकप्रिय छन् ।file photo