Logo

चुनावी गठबन्धन गर्न कांग्रेस एकमत



काठमाडौं, असार ३१। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ ।

यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा फरक मत देखिए पनि आगामी निर्वाचनमा सम्मानजनक सिट बाँडफाँटसहितको तालमेल हुनुपर्ने पक्षमा कांग्रेसभित्र मतैक्यता बन्ने देखिएको हो ।

गत २७ असारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ । बैठकमा आगामी निर्वाचनका विषयमा कांग्रेसभित्र रणनीतिक बहस चल्दै छ । कांग्रेसले आगामी निर्वाचनमा तालमेल गरेरै जाने निर्णय यसै बैठकबाट गर्ने सम्भावना छ ।

जारी बैठकमा संस्थापनइतर समूहले पनि निर्वाचनमा गठबन्धन कायम राखेर जाँदा नेता कार्यकर्तालाई न्याय हुन्छ कि हुँदैन भनेर प्रश्न गरिसकेका छन् । यसअघि स्थानीय तहको निर्वाचनमा इतरसमूहले गठबन्धन गर्न नहुने अडान लिएको थियो ।

केन्द्रीय समिति बैठकको पहिलो दिनमा नै इतर समूहको नेतृत्व गरेका डा शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीको नीति, आदर्श र सिद्धान्तविपरीत गठबन्धन गरिएको भन्दै नेतृत्वको आलोचना गर्दा प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेलबारे पार्टीको धारणा निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा सभापति देउवासामु प्रश्न गर्दै उनले भनेका छन्, ‘आगामी निर्वाचनमा व्यक्ति केन्द्रित गठबन्धन गर्दा पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त?’

जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं पनि आगामी निर्वाचनमा सत्ताधारी दलबीच चुनावी तालमेल कायम रहने प्रस्ट सन्देश दिइसकेका छन् ।

शीर्षस्थ नेताहरू पनि गठबन्धनबीचको तालमेल कायम राखेरै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू गठबन्धन कायम गरेर निर्वाचनमा जानुपर्ने पक्षमा रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्