काठमाडौं, ३१ असार । नेकपा एमालेकी सांसद विद्या भट्टराईले जित्ने आधार देखेर नै उपसभामुखमा उम्मेदवारी दिएको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भनिन्, “संसदमा सबैभन्दा ठूलो दलका हिसाबले पनि नेकपा एमालेको उम्मेदवारी आवश्यक थियो । संसदमा प्रतिपक्षको महत्त्वपूर्ण भूमिका हुन्छ । संसदीय मूल्य, मान्यता, परम्परालाई हेर्ने हो भने सत्तापक्षले प्रतिपक्षलाई उपसभामुख दिनुपर्ने हो । सर्वसम्मत भएको भए राम्रो हुन्थ्यो । मलाई भेट्ने सांसदहरुले जित्नुपर्ने उम्मेदवार तपाईं नै हो भनिरहनुभएको छ । स्वच्छ प्रतिस्पर्धाका निम्ति म तयार छु ।”
कति अवधिको सभामुख भन्दा पनि उपसभामुख खाली राख्नुहुन्न भन्ने मान्यताले आफू उम्मेदवार भएको पनि भट्टराईले औंल्याइन् । उनले थपिन्, “व्यवस्थापिकालाई कार्यपालिकाको हस्तक्षेपबिना स्वतन्त्र रुपले चलाउन उपसभामुख प्रतिपक्षको भए राम्रो हुन्छ । कति अवधिका लागि भन्ने कुरा महत्त्वपूर्ण होइन । त्यो पद खाली राख्नु हुँदैन भनेर नै अहिले प्रतिस्पर्धा गरिएको हो ।”
अर्को प्रसंगमा उनले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एकै व्यक्ति हुन् भन्ने प्रमाण नभएको दाबी पनि गरिन् । उनले भनिन्, “आशंका त आयो तर प्रमाण छैन। हिजो को कहाँ थियो भन्ने आधारमा हेर्नु हुँदैन । राजनीतिक नियुक्तिमा यस्तो भइहाल्छ नि ।”