Logo

लिभ इन पार्टनरको क्रुरताबाट त्रसित महिलाले गरिन् आत्महत्या, जबरजस्ती १४ पटक गर्भपतन गराएको खुलासा



एजेन्सी, ३१ असार । दिल्लीमा एक ३३ वर्षीया महिलाले जबरजस्ती गर्भपतनबाट दिक्क भएर आत्महत्या गरेकी छन् । उनले सुसाइड नोटमा आफ्नो लिभ इन पार्टनरले आठ वर्षमा १४ पटक गर्भपतन गराउन बाध्य पारेको लेखेकी छन् । यो घटना दक्षिण पूर्वी दिल्लीको जैतपुर क्षेत्रमा जुलाई ५ मा भएको हो । प्रहरीले आरोपीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

महिलाले आत्महत्या गरेको सम्बन्धमा प्रहरीमा जानकारी आएको थियो । जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेपछि कोठामा छतको फ्यानमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो । उनलाई तत्काल एम्समा लगिएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

महिलाबाट सुसाइड नोट पनि फेला परेको प्रहरीले बताएको छ । नोटमा महिलाले विवाहको बहानामा आफूसँग शारीरिक सम्बन्ध राख्ने पुरुषसँग लिभ इन रिलेशनशिपमा रहेको पनि लेखेकी छन् । पछिल्लो समय पुरुषले उनीसँग विवाह गर्न अस्वीकार गरेपछि महिलाले आत्महत्या गरेको सुसाइडबाट बुझ्न सकिन्छ ।

प्रहरीले मृतकको मोबाइल फोन र झुण्ड्याउन प्रयोग गरिएको स्टूल बरामद छ प्रारम्भिक अनुसन्धानपछि ती महिला विगत ७–८ वर्षदेखि श्रीमानबाट अलग बस्दै आएकी थिइन् । प्रहरीले बिहारको मुजफ्फरपुरमा बस्ने उनका आमाबुवालाई खबर गरी पोस्टमार्टमपछि शव उनीहरुलाई बुझाएको थियो ।

प्रहरीको अनुसार आरोपी नोएडाको एक सफ्टवेयर फर्ममा काम गर्दछ। उनीविरुद्ध धारा ३०६ (आत्महत्या गर्न दुरुत्साहन), ३७६ (बलात्कार) र ३१३ (महिलाको सहमतिविना गर्भपतन) अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ गर्न छापा मारिएको छ ।



प्रतिक्रिया दिनुहोस्