Logo

मोदीसँग प्रचण्डको संवादले के पाक्ला



काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्र र भारतीय जनता पार्टीबीच औपचारिक सम्बन्ध छैन । माओवादी कम्युनिस्ट विचारधाराको दल हो । भाजपा हिन्दूत्वको सिद्धान्त अँगिकार गर्छ । तर, भाजपा अध्यक्ष जेपी नड्डाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको निम्तो दिए ।

कुनैबेला भाजपाप्रति नेपालका दलहरुको दृष्टिकोण नकारात्मक नै देखिन्थ्यो । यतिसम्मकी नेपाली काँग्रेसल पनि भाजपासँग सम्बन्ध बनाउन आवश्यक ठानेन । पछिल्लो समय नरेन्द्र मोदी सत्तामा आएपछि भाजपाको शक्ति बढ्दै गयो । त्यसपछि नेपालका दल र नेताहरुले भाजपालाई चासोका साथ लिन थाले ।

मोदीले सन् २०१९ को चुनाव भारी बहुमतका साथ जितेपछि झन् नेपालका नेताहरु भाजपासँग नजिकिने प्रयास गर्न थाले । भाजपाले नेपाली काँग्रेसका सभापतिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निम्तो दियो । भाजपा कार्यालय पुगेका थिए देउवा ।

देउवापछि प्रचण्ड निम्तो गरिए । कम्युनिस्ट नेताका रुपमा भन्दा पनि नेपालको एउटा शक्तिको दृष्टिले माओवादी नेताले निम्तो पाएको बुझिएको छ । अकोतर्फ, भाजपाले नेपालका मुख्य दलसँग संवाद बढाइसकेको छ ।

प्रचण्डले भारत भ्रमणको बेलामा भाजपाको नेपालप्रतिको चासोमा खुलेर कुरा गर्ने बुझिएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने तय भएको छ । यो भ्रमणमा चासो बढिसकेको छ ।

मोदीले नेपालप्रति राख्ने धारणा र बदलिदो विश्व परिस्थितिमा भारतको चासोबारे प्रचण्डले संवाद गर्ने बुझिएको छ । दुई देशबीचको सम्बन्ध देखि विभिन्न समस्याको समाधानको उपायबारे पनि छलफल गर्ने बुझिएको छ ।

विशेषगरी, भाजपाले नेपालमा धर्म संस्कृतिको विषयबारे चासो राख्दै आएको छ जुन बाहिर खुल्दैन । प्रचण्डले भाजपा नेतृत्वसँगको कुराकानीमा यी विषयबारे पनि छलफल गर्ने सम्भावना नभएको होइन । उनले मन खोलेर कुरा गरेमा मात्र यी विषयहरु आउन सक्छन् ।

जे होस् प्रचण्डको यो भ्रमण भाजपा र भारत सरकारसँग नेपाल मामलाबारेको धारणा बुझ्न सक्छन् । छिमेक सम्बन्धका यी विषयका आधारमा पनि भविष्यको बाटो निर्धारण गर्न सहज बिन्दु भेट्न सक्छन् । यसकारण पनि प्रचण्डको भ्रमण महत्वपूर्ण छ । यसपटक दिल्लीमा केही पाक्न सक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्