Logo

कार्यकाल सकिनै लाग्दा उपसभामुख



काठमाडौं, असार ३२। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा उपसभामुखमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि शुक्रबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १ सय ४८ मत पाइन् । उनको विपक्षमा ९३ मत खसेको थियो ।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई ‘उपसभामुखमा चयन गरियोस्’ भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन ।

२०७६ साल माघमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म रिक्त यो पदमा शुक्रबार चुनाव भएको हो ।

शुक्रबारको बैठकमा २ सय ४२ सांसद उपस्थित थिए । एक सांसद भने तटस्थ रहे । भुसाललाई सत्तारूढ दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । सत्ताबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि उनलाई सघाएको थियो ।

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आबद्ध छिन् । उपसभामुख निर्वाचित हुनुअघिसम्म भुसाल कांग्रेसका तर्फबाट सचेतक थिइन् । उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । कांग्रेसले यसअघि २०७४ सालमा पनि उनलाई उपसभामुख उम्मेदवार बनाएको थियो । तर, उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।

२०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुख निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । २ चैत २०७४ मा भएको उपसभामुख निर्वाचनमा उनी तत्कालीन वामगठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी तुम्बाहाम्फेसँग पराजित भइन् । त्यसबेला तुम्बाहाम्फे २ सय १ मत प्राप्त गरी विजयी हुँदा भुसालले ५८ मत पाएकी थिइन् ।

तर, शुक्रबारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरूको अवस्था, दलीय समीकरण र सरकार फेरियो । भुसाल उपसभामुखमा १ मत ४८ मत ल्याएर विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईको पक्षमा ९३ मत मात्रै रह्यो ।

२०२८ सालदेखि राजनीतिमा सक्रिय पुष्पाले कांग्रेसमा लामो समय महिला विभाग र कानुन विभागमा काम गरेकी थिइन् । उनले कांग्रेस भ्रातृ संगठन नेपाल महिला संघमा महासचिवका रूपमा समेत काम गरेकी थिइन् । २०५६ मा प्रतिनिधि सभा उम्मेदवार बने पनि पुष्पा पराजित र २०६४ सालको संविधान सभामा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन् । २०७० सालको निर्वाचनमा भने उनी पराजित भएकी भइन् । त्यस्तै, उनी २०७४ सालको निर्वाचनमा भने समानुपातिकतर्फको सूचीमा बसेकी थिइन् ।

राजनीतिमा सक्रिय हुनुअघि पुष्पाले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन् । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । नवनिर्वाचित उपसभामुख भुसालले आफ्नो जित संविधानको पक्षधर र लोकतन्त्रवादीको जित भएको प्रतिक्रिया दिएकी छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot