काठमाडौं, ३२ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको औंलामा नाचेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, “भारत हाम्रो कस्तो मित्र हो भने इन्डियन आयल निगमले पैसा दिएर मात्र इन्धन लैजाऊ भन्यो भने नेपाल भोलि नै श्रीलंकाको स्थितिमा जान्छ । हाम्रो भाग्य हो, भारतले अझै पनि माया गरिरहेको छ । अहिले प्रचण्ड भारत गएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा पनि प्रचण्डसँग नै पावर थियो । किन बिगारेको त भारतसँगको सम्बन्ध ? अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डको औंलामा नाचेका छन् ।”
प्रचण्डलाई भारत बोलाउनु भारतीय जनता पार्टीको महानता भएको पनि डा. दीक्षितको टिप्पणी छ । उनले भने, “प्रचण्ड अहिले चिनियाँ नेतालाई भेटेको दुई दिनमै भारत गएका छन् । उनी माओवादी अध्यक्ष भएर गएको हो कि डिफ्याक्टो प्रधानमन्त्री भएर भारत गएको हो ? मित्र भएर गएको हो कि शत्रु भएर ? कहिले भारतसँग चरम शत्रुता देखाउने, कहिले भारतपरस्त हुने ? उनलाई बोलाउनु भाजपाको महानता हो ।”
आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउनुपर्ने पनि उनले औंल्याए । डा. दीक्षितले भने, “संसदमा जनताको आवाज पुगेन । पहिले कांग्रेसले प्रतिपक्षको भूमिका खेलेन । अहिले एमालेको भूमिका पनि पुगेको छैन । कानमा तेल हालेर बस्नेलाई अब भोट नदिऊँ । राम्रो व्यक्ति छ भने स्वतन्त्र उम्मेदवारलाई भोट दिऊँ । १५, २० जना व्यक्ति संसद्मा पुगे भने पनि मुलुकका निम्ति राम्रो हुन्छ ।”