Logo

निर्वाचनमा पहिलो पार्टी बनाउने नेतृत्वलाई असफल भयो भन्न मिल्दैनः रमेश लेखक



काठमाडौं, ३२ असार । नेपाली कांग्रेसका नेता रमेश लेखकले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनाउने नेतृत्वलाई असफल भयो भन्न नमिल्ने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “पार्टीमा आलोचनात्मक र समालोचनात्मक दुवैथरी अभिव्यक्ति आउँछन् । तर समसामयिक विषयमा पार्टीको एकमत भएर विषयहरु टुंगिन्छन् । पार्टी सभापतिका रुपमा शेरबहादुर देउवा सफल कि असफल हुनुभयो भन्ने कुरा परिणामले देखाउने हो । स्थानीय तहमा नेपाली कांग्रेस २०४९ पछि पहिलो पटक ठूलो पार्टी भएको छ । निर्वाचनमा पहिलो हुने अनि नेतृत्व असफल भयो भन्न मिल्दैन । पार्टी विभाग, पदाधिकारी र कार्यसमितिको पूर्णताका कुरा पनि उठेका छन् । ती सबै कुरा सम्बोधन हुँदै जान्छन् ।”
देउवा नेतृत्वको सरकार राजनीतिक कोर्समा सफल रहेको पनि लेखकको टिप्पणी छ । उनले थपे, “यो विशिष्ट अवस्थामा बनेको सरकार हो । केपी ओलीले पटक पटक गैरसंवैधानिक रुपमा संसद् विघटन गरेपछि संविधानलाई सही बाटोमा लैजाने यो सरकार बनेको यथार्थ हामीले बुझेका छौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अब निकट भविष्यमा संघ र प्रदेशको निर्वाचन हुन्छ । यो सरकार राजनीतिक कोर्समा सफल भएको छ । जनताका दिनानुदिनका समस्यामा आलोचनाको पक्ष छन् । त्यसलाई पनि अन्यथा लिनुहुन्न ।”
राजनीतिक स्थिरताका लागि गठबन्धनको विकल्प नभएको पनि कांग्रेस नेता लेखकले जोड दिए । उनले भने, “मिश्रित निर्वाचन प्रणाली भनेको मिलेर सरकार चलाउने पद्धति हो । निर्वाचन अघि गरे पनि पछि गरे पनि गठबन्धन गर्नैपर्छ । त्यसो नभएर राजनीतिक स्थिरता रहँदैन । त्यसैले तालमेल गरेर जानुपर्छ भन्ने कुरालाई पार्टी बलियो वा कमजोर हुने विषयसँग जोड्नुहुन्न । केन्द्रीय समितिको बैठकमा अधिकांश साथीहरुले गठबन्धनले सकारात्मक परिणाम दिएकाले आगामी निर्वाचनमा पनि अरु पार्टीसँग तालमेल गरेर जानुपर्छ भनिरहनुभएको छ ।”



प्रतिक्रिया दिनुहोस्