Logo

वैदेशिक रोजगारीमा जाने छ लाख नाघे



काठमाडौं, असार ३२ । समय श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको छ । गएका दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी गत वर्षभन्दा यो वर्ष तीन दशमलव ७४ गुणाले वृद्धि भएको हो ।

कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो ।वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष (असार ३० गतेसम्म) छ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा चार लाख ६१ हजार ८०५ ले बढी हो ।

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा बढी मङ्सिर महिनामा रहेको छ । मङ्सिर महिनामा ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम साउनमा २५ हजार ४६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै पुसमा झन्डै साढे ६६ हजारले श्रम स्वीकृति लिए भने जेठ र असारमा क्रमशः साढे ६२ हजार र ६० हजारले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

यो वर्ष नेपालीका प्रमुख श्रमगन्तव्य मुलुक साउदी अरब र कतार बनेका छन् । आव २०७८र७९ मा साउदी अरबका लागि एक लाख ८८ हजार ३९६ जनाले र कतारमा एक लाख ८४ हजार ५०३ जनाले श्रमस्वीकृति लिएका छन् । सो अवधिमा सबैभन्दा कमले श्रम स्वीकृति लिने देशमा ओमान, जापानलगायतका देश रहेका छन् ।

आव २०७७र७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आव २०७६र७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot