वृतासुरले स्वर्ग नै हडपेपछि देवताहरु भड्कन थाले । विष्णुको प्रार्थना गरेपछि वृत्तासुरको बधको उपाय भने । कठोर तपस्वी ऋषि दधिचिको हड्डीको बज्र बनाएर प्रहार गरेमा वृतासुरको बध हुने उपाय सुनाए । त्यसपछि देवताहरु ऋषि कहाँ गए । ऋषिले दानवहरुलाई पराजित गर्न त्याग गर्न तयार भए । उनले दैत्यलाई पराजित गर्न प्राण त्यागेर हड्डी दान गरे । दधिचीको कथा आफैमा सन्देश हो ।
असत्यविरुद्ध सत्यको जीत सजिलो छैन । यसका लागि दधिचीहरु जन्मनुपर्छ । त्यागहरु चाहिन्छ । निडरता र साहस चाहिन्छ । कुनैपनि राष्ट्र बन्न दधिचीहरु जन्मनुपर्छ ।
आहुतीविना कुनैपनि यज्ञ अधूरो हुन्छ । विध्न वाधाका घेराहरु तोड्नुपर्छ । दधिचीहरु जन्मनुपर्छ बज्र बनाउन । अनिमात्र राष्ट्र निर्माणको विजय प्राप्त हुन्छ । नव दधिचीहरु हड्डी गलाउन तयार हुनुपर्छ । बज्रहरु बन्छन् र असत्यका खम्बाहरु ढाल्छन् । दीयो बल्छ नयाँ युगको अनि बल्ल बन्छ देश । समय आउँछ अवश्य आउँछ । दधिचीहरु जन्मन्छन् र हड्डी समर्पण गर्छन् । देशका लागि । राष्ट्रहितका लागि र आफ्नो सनातन संस्कृतिका लागि ।
त्यसैले भूपी शेरचनले भनेका छन्ः
हुँदैन विहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए