Logo

जसपा ज्यूँको त्यूँ छ, केही साथीहरू बाहिरिएका हुन्ः मनीष सुमन



काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले पार्टी फुटेको नभई केही नेताहरु बाहिरिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “डा. बाबुराम भट्टराईलगायत केन्द्रीय कार्यकारिणी समितिका ५-१० जना, केन्द्रीय समितिको ६० जनाजति साथीहरु पार्टीबाट बाहिरिँदै हुनुहुन्छ । त्यो दुःखदायी छ । तर उहाँहरु पार्टीको जग्गा, भवन, बेन्च लिएर फुट्नुभएको होइन । विभाजनको निश्चित प्रक्रिया हुन्छ । जसपा ज्यूँको त्यूँ छ ।”
अर्को पक्षले त १० जना सांसद र २३० केन्द्रीय सदस्य रहेको बताइरहेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा सुमनले थपे, “मैले पनि डा. बाबुराम भट्राईसँग काम गरेको छु । उहाँ यस्तो सतही र हावादारी कुरा गर्नुहुन्न । पार्टीका साथीहरु बाहिरिनु गर्व गर्ने कुरा होइन । घाटा नपरेको स्वाङ गर्ने कुरा पनि होइन । तर यो निर्वाचनको मुखमा कुसमयमा भयो । आम मतदाताबीच जान पनि अप्ठ्यारो हुन्छ । तर हामी यसपटक ६ प्रतिशतभन्दा बढी सिट जित्छौं ।” आगामी प्रदेश र संघको निर्वाचनमा तालमेल हुने वा नहुने यकिन नभएको पनि उनले औंल्याए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई सकारात्मक रुपमा लिएको पनि सुमनले बताए । उनले भने, “भारतसँग हाम्रो अटुट सम्बन्ध छ । पूर्वप्रधानमन्त्री बोलाएर स्वागत गर्नुलाई हामीले अन्यथा लिनु पर्दैन । प्रचण्डजी नेपाली राजनीतिको महत्वपूर्ण व्यक्ति हो । शिखर पुरुष हो, विश्व नेता हो । यसलाई हामीले हर्ष र खुसीको क्षणका रुपमै लिएका छौं ।”



प्रतिक्रिया दिनुहोस्