काठमाडौं, १ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सार्वजनिक खपतका लागि बोलेर चर्चामा आएका नेताहरु भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “कांग्रेसमा आफूलाई लागेका कुरा स्पष्ट रुपमा राख्न पाइन्छ । हाम्रा महामन्त्रीहरु सार्वजनिक खपतका लागि बोलेर चर्चामा आएका नेताहरु हुन् । यसमा आश्चर्य मान्नुपर्ने के छ र ? विश्वप्रकाशजीमा सभापति शेरबहादुर देउवाको टिममा नपरेको तुष छ । गगन थापाजी मन्त्री पाएपछि चुप लाग्नुहुन्छ । उहाँहरु हरेक फोरममा चटके वा फुटपाथमा जडीबुटी बेचेजस्तै गर्नुहुन्छ ।”
सरकारका निर्णय महामन्त्रीद्वयसँग छलफल गर्ने विषय नभएको पनि बस्नेतले बताए । उनले भने, “गगनजी मन्त्री भइसक्नुभएको छ । सरकारका निर्णय पार्टीमा छलफल गरेर हुँदैन भन्ने उहाँलाई राम्ररी थाहा छ ।”
पार्टीमा भागबन्डाका लागि हरेक विषय अल्झाएर राखेको आरोप पनि उनले लगाए । बस्नेतले थपे, “पार्टीका बैठक महामन्त्रीमार्फत नै बोलाउने हो । तर उहाँहरुले नै फोन नउठाएपछि कहिलेकाहीँ एकाध काम भए होलान् । भातृसंस्थाको मनोनयन सभापतिको अधिकार क्षेत्रमा पर्छ । तर सभापतिले भातृसंस्थाका सदस्यको नाम नै दिनुभएन । उहाँहरुका कारण अहिलेसम्म पूर्णता पाएको छैन । सभापतिले ४० प्रतिशत दिन्नँ भन्नुभएको छैन । तर उहाँहरुले भागबन्डा गर्दैनौं भन्नुभयो । फेरि त्यही भाग माग्नुभयो र भागमै कुरा अड्किएको छ ।”
सभापति देउवाले आफ्नो र अर्को पक्ष भनेर काखापाखा गर्नुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा बस्नेतले भने, “सभापतिज्यूले पार्टीबाहिर त मिलाएर जानुभएको छ, पार्टीभित्र नमिलाउने भन्ने प्रश्न नै छैन । पूर्णबहादुर खड्का सिनियर उपसभापति भएकाले कहिलेकाहीँ उहाँले धेरै जिम्मेवारी पाउनुभयो होला । सभापतिसँग नजिक हुन चाह्यो भने धनराज गुरुङजीले भूमिका पाउनुहुन्छ । तर अर्को विचार समूहका नेताहरुले उहाँलाई नजिक हुन दिँदैनन् । टाढै रहन चाहेपछि कसरी भूमिका दिने ?”
आफू आगामी संघ र प्रदेश निर्वाचनमा तालमेलको विरोधी नभए पनि त्यो न्यायपूर्ण हुनुपर्ने बस्नेतले बताए । उनले भने, “म तालमेलको पक्ष वा विपक्षमा होइन । तर त्यो न्यायपूर्ण हुन्छ । जस्तोः सिन्धुपाल्चोक क्षेत्र नं १ का ५४ वडामध्ये माओवादी केन्द्रले जम्मा ४ वटा जितेको छ । ३२ वटा हामीले एक्लै जितेका छौं । स्थानीय तहमा पनि तालमेल भएन, जिल्ला समन्वयमा पनि तालमेल भएन । सबै मिले पनि हामी एक्लै जित्छौं । सिन्धुपाल्चोकमा माओवादीले सास फेर्ने ठाउँ पनि छैन । एक्लै चुनाव जित्ने ठाउँ र हार्ने ठाउँ छुट्याएर समीकरण गर्नुपर्छ । नेताहरुले पनि हरेक चुनाव क्षेत्रको गम्भीरता नपुगी निर्णयमा पुग्नुहुन्न भन्ने मलाई विश्वास छ ।”