काठमाडौं, १ साउन । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । सो क्रममा उनलाई विजेपीका अध्यक्ष जयप्रकाश नड्डाले दोसल्ला ओढाएर स्वागत गरेका थिए । दाहाल नड्डाकै निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । उक्त भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरू र प्रचण्डपुत्री गंगा दाहालका साथै स्वकीय सचिव रमेश मल्ल सहभागी थिए ।
दाहालको सचिवालयले अध्यक्ष दाहाललाई भाजपा अध्यक्ष जेपी नड्डाले पार्टी कार्यालयमा भव्य स्वागत गरेको उल्लेख गरेको छ । सचिवालयले भनेको छ–‘पार्टी कार्यालयमा भएको भेटवार्तामा दुई पार्टी र दुई देशकाबीचको सम्बन्धलाई सुदृढ गर्ने विषयमा महत्त्वपूर्ण सम्वाद भएको छ।’ दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आजै भेटवार्ता गर्ने बुझिएको छ । उनी आजै साँझ स्वदेश फर्कने छन् ।