Logo

“मोदीसँग भेट नहुँदैमा प्रचण्डको भारत भ्रमणलाई अधुरो भन्न मिल्दैन”



काठमाडौं, २ साउन । कूटनीतिज्ञ प्राध्यापक लोकराज बरालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राजनीतिक भेटघाट नहुँदैमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई अधुरो भन्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरालले भने, “मित्रराष्ट्रको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का अध्यक्षले बोलाएको दल र दलबीचको सम्बन्ध बढाउने भनेर प्रचण्डलाई बोलाएका हुन् । आजको दिनमा माओवादी केन्द्र संसदमा तेस्रो ठूलो पार्टी हो । प्रचण्ड दलका अध्यक्ष हुन् । मोदीसँग पहिले नै भेटघाट तय भएको थिएन । अनुमानित मात्र थियो । प्रचण्डले अरु सम्मान पाएका छन् । जेपी नड्डा, अजित डोभल, विदेशमन्त्रीसँग पटकपटकको भेटघाट पनि कम होइन । गिरिजाप्रसाद कोइराला भारत जाँदा पनि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भेटेका थिएनन् ।”
के दिल्लीमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आगामी निर्वाचनपछि आलोपालो प्रधानमन्त्री हुने सहमति भयो होला त भन्ने पत्रकार धमलाको प्रश्नमा बरालले भने, “भित्री लेनदेन के के हुन्छ, हामीलाई थाहा हुन्न । आउने चुनावपछि यिनीहरु नै आउने हुन् वा चीनतिर ढल्किएलान् भन्ने डरले पनि प्रचण्डलाई बोलाएको हुन सक्छ । तर म के भन्न सक्छु भने भारतले अहिलेको गठबन्धनलाई बिगार्न खोज्दैन । तत्काल विकल्प पनि खोज्दैन । किनभने केपी ओली भारतविरोधी नारा लगाएर सत्तामा गएका हुन् । हुन त राजनीतिमा अछुत कोही हुन्न । भोलि ओली नै आए भने पनि कुार मिलाइहाल्छन् ।”
भारतीय जनता पार्टी (बीजेपी)ले चाहँदैमा नेपालमा हिन्दु राष्ट्र नहुने संविधान बनाउँदा नै स्पष्ट भएको पनि बरालले औंल्याए । उनले भने, “नेपाल व्यवहारले हिन्दु राष्ट्र नै छ । बीजेपीको चाकरी गरेर हिन्दु राष्ट्र बनाए के हुन्छ ?” साथै उनले सन् १९५० सन्धि पुनरावलोकन वा ईपीजी प्रतिवेदन कुनै नयाँ मुद्दा नभएको पनि बताए । उनले भने, “प्रचण्ड किन ईपीजी, ईपीजी भनिरहेका छन् ? त्यसमा के रामवाण छ ? भारतले लिन्नँ भन्छ भने हामीले किन टाउको दुखाउने ? त्यो कुन ठूलो कुरा हो ?”



प्रतिक्रिया दिनुहोस्