Logo

कांग्रेससँग ‘पावर सेयरिङ’का कुरा गर्न दिल्ली धाउनु पर्दैन, दुष्प्रचार गर्नेलाई कानुनी कारबाही गर्नुपर्छः रमेश मल्ल



काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र)का नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमण दलका सदस्य रमेश मल्लले नेपाली कांग्रेस र आफ्नो पार्टीबीच आलोपालो प्रधानमन्त्री हुने कुरा गर्न दिल्ली धाउनु नपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मल्लले भने, “गठबन्धनमा सँगै जाने भनेपछि विश्वासको वातावरण बनाउनका लागि पावर सेयरिङका कुरा हुनु स्वाभाविकै हो । । तर, कांग्रेस र माओवादी आलोपालो प्रधानमन्त्री हुने कुरा गर्न दिल्ली धाउनु पर्दैन । विपक्षी दलको सोच्ने तरिका देख्दा टीठ लाग्छ, दया लाग्छ ।”
आगामी पाँच वर्षका लागि प्रचण्ड र आरजु राणा देउवाबीच आलोपालो प्रधानमन्त्री हुने भन्ने कागज फर्जी भएको पनि उनले औंल्याए । मल्लले थपे, “आरजु म्याडम पाठेघर समस्या भएकाले दिल्लीमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्यलाभको कामना गर्नुको साटो फेक डकुमेन्ट तयार गरेर दुष्प्रचार गरिएको छ । राजदूत डा. शंकर शर्माले दूतावासमा आयोजना गर्नुभएको ब्रेकफास्टमा आरजु आउनुभएको हो । हल्ला गरिए जस्तो त्यहाँ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नै हुनुहुन्थेन । राष्ट्रियताजस्तो मुद्दामा यस्तो घात गर्न मिल्छ ? यस्ता दुष्प्रचार गर्नेलाई कानुनी कारबाही गर्नुपर्छ ।”
सन् १९५० को सन्धि खारेजी लगायतका कुरा उठाएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिएको भन्ने आरोपको पनि उनले खण्डन गरे । मल्लले भने, “नेपाल र भारतबीच केही समस्या थाती छन् । सन् १९५० को सन्धि, सीमा समस्या, ईपीजी प्रतिवेदन समयमै हल गरेर जानु राम्रो कुरा भन्ने कुरा प्रचण्डले उठाउनुभएको हो । तर यी कुरा उठाएकाले मोदीजीसँग भेट नभएको भन्ने कुरा सत्य होइन । मोदीजीसँगको भेट हाम्रो सेड्युलमै थिएन । भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले सम्भव भएसम्म भन्नुभएको थियो । मोदीजीको निम्तोमा नगएको हुनाले भ्रमण तलमाथि भयो भन्ने अर्थ लगाउन मिल्दैन । भारतमा राष्ट्रपति निर्वाचनको चटारोका कारण ढिला हुने भयो भन्ने कुरा आएकाले हामीले नपर्खिएका हौं ।”
प्रचण्डको भारत भ्रमण पूर्ण रुपमा सफल भएको पनि मल्लको दाबी छ । उनले भने, “भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीनदिने सद्भावना भ्रमण पूर्ण रुपमा सफल भएको छ । यसले पार्टी टु पार्टी रिलेसन बनाउन सहयोग गरेको छ । विगत सातआठ वर्ष निरन्तर भारतीय शासन सत्ताको नेतृत्व रहेको र अझै केही वर्ष नेतृत्वमा रहने बीजेपी अध्यक्ष, विदेश मन्त्री, विदेश सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकारसँग द्विपक्षीय हितका विषयमा भएका कुराकानीले विशेष अर्थ राख्छ ।”
साथै मल्लले केपी शर्मा ओलीको नेतृत्व रहेसम्म रहुन्जेल नेकपा एमालेसँग एकताको सम्भावना नरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्